Logo

पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी



काठमाडौं, २७ चैत । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सामूहिक गिरफ्तारी दिने निर्णय गरेको छ।

आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा बोल्दै गुरुङले तीनकुने घटनामा पक्राउ परेकालाई वैशाख २१ गतेसम्म रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरे।

सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उनले बताए । गुरुङले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा हुने उल्लेख गरे ।
अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजित सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए । राजावादीहरूलाई कमजोर बनाएर बदनाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए ।

उनले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए ।

अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी

प्रतिबद्धता सभामा नेपाली कांग्रेस छाडेका कर्ण मल्ल र नेकपा एमाले छाडेकी गंगा चौधरी पनि मिसिएका छन् ।

यसअघि भएका राजावादी आन्दोलनमा नदेखिएका यी दुई पात्रलाई राजावादीहरूले मञ्चमै स्थान दिएका छन् ।

गुरूङ नेतृत्वको आन्दोलन समितिले आयोजना गरेको उक्त कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि देखिए । मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको सभामा सहभागी नभएका थापा जगमान नेतृत्वको बैठकमा भने देखिए । उता राप्रपाका वरिष्ठ नेता पनि मल्ल र चौधरीसँगै मञ्चमा देखिए ।

त्यहाँ गुरुङ कार्यवाहक संयोजक रहेको ‘संयुक्त जनआन्दोलन’ सभाले राजा र हिन्दु राज्य फर्काउने आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता सभा आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्