काठमाडौं, ४ असोज । सदस्य शुद्धीकरण विवादमा फसेको नेपाल पत्रकार महासंघका कावा अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिनुभएको छ । केन्द्रीय समितिलाई सम्बोधन गरेर उहाले बुझाएको राजीनामा पत्रको बोधार्थ महासचिव रोशन पुरी र उपाध्यक्ष वाला अधिकारीलाई दिनुभएको हो ।
पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके उहाको भनाइ छ ।
‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टको भनाइ छ ।
‘पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दबाब र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्’, उहाले राजीनामा पत्रमा लेख्नुभएको छ ।
महासंघ पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्ता समीकरणको शिकार बन्न पुगेको भन्दै उहाले दलगत रूपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित-हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको जिकिर गर्नुभएको छ ।
यसअघि अध्यक्ष विपुल पोखरेलले चुनाव गराउन नसकेपछि राजीनामा दिनुभएको थियो।