काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै, ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने सरकारले निर्णय गरेको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।