काठमाण्डाै, २९ माघ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।
पूर्णबहादुरले पोर्चुगल पठाइदिने भन्दै तीन जनाबाट नौ लाख र राजकुमारले जापान पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।