काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको बताउनुभएको हो ।
वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ । हजारौंमध्ये केही मात्र सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै, उहाँले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापनासँगै सेवा क्षेत्रमा नविन सोचका साथ अगाडि बढ्न अनुकुल वातावरण बनेको बताउनुभयो ।
‘विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि बढाएर लैजानुपर्छ । उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापना र अन्य क्षेत्रहरुबाट काम अगाडि बढाउने र सेवा क्षेत्रलाई गति दिनका लागि नविन सोचका साथ नयाँ भावनाका साथ अगाडि बढ्न आवश्यक रहेको छ । स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ ।’ उहाँको भनाइ छ ।