Logo

बिर्तामोडका पुर्व मेयर शिवाकोटी जेल चलान



बिर्तामोड, २२ पुस ।  नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पुर्वक्षका लागि आज जेल चलान भएका छन् ।

आफ्नै घरमा कामदारको रुपमा राखिएकी १५ वर्षीया नाबालिका माथी करणी गरेको आरोप लागेका उनलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको झापा जिल्ला अदालतका सुचना अधिकारी रामचन्द्र बस्नेतले गोरखापत्रलाई बताउँनुभयो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको बस्नेतले बताउनुभयो । नगरप्रमुख शिवाकोटीसग अदालतले बयान लिएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । पक्राउ परेका शिवाकोटीलाई प्रहरीले १२ देखि १४ बर्षसम्म कैद सजायको माग सहित अदालतमा पेश गरेको थियो ।
पक्राउ परेकै दिनदेखि पुर्व नगरप्रमुख शिवाकोटी विरामी भएको भन्दै बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा रहदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्