झापा, ९ चैत । करोडौँ रकम ठगेर भाग्ने शृङ्खलाबद्ध घटनाका क्रममा बिर्तामोडका अर्का व्यवसायी पनि फरार भएका छन् । बिर्तामोड-४ स्थित एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँको रकम ठगी फरार भएका हुन् ।
करिब दश दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरूले बताएका छन् । आफूलगायत धेरै जनाको रकम ठगेर रौनियार बेपत्ता भएको गरामनीकी मनीषा शेखले बताउनुभयो । उहाले आफ्नो ३ लाख १५ हजार र आफ्नो भेना वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ ठगी गरेको बताउनुभयो । उहाले अन्य धेरै जनाको करोडौँ रकम ठगेर रौनियार बेपत्ता भएको जानकारी दिनुभयो । हार्डवेयर पसल सञ्चालन गरेको उनको घरजग्गा बैंकले लिलामी गर्न लागेको जनाइएको छ ।
रकम ठगी गरी रौनियार बेपत्ता भएको कुरा पीडितहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । धेरै जनाको रकम ठगी गरी रौनियार भागेको कुरा जानकारी भएपनि प्रहरीकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । डीएसपी विष्टले रकम डुबेकाहरूले केही दिनअघि रौनियारको खाली घरमा तोडफोड गर्न जाँदा प्रहरीले रोकेको जानकारी दिनुभयो ।
बिर्तामोडका अर्का व्यवसायी रौनियार ठगी गरी भागेको कुरा आफूले सुनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । क–कसको के कति रकम डुबेको भनेर जानकारी नभएको उहाको भनाई छ ।
बिर्तामोडमा ठगी गरी भाग्ने क्रम बढ्दै गएको छ । सामान्य ठगीका घटना मात्र नभएर सुनियोजित ढंगले करोडौँ ठगी गर्ने षडयन्त्रहरू बिर्तामोडमा भइरहेको विभिन्न घटनाले पुष्टि गरेको छ । ठगी गरेर भाग्नेहरू सामान्य व्यक्तिहरू होइनन् , व्यावसायिक र सामाजिक हिसाबले गन्यमान्यहरू नै छन् । जसका कारण आर्थिक कारोबार मा सचेत हुनुपर्ने अवस्था देखिएको छ ।
बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चूडामणि पौडेल करोडौँ रकम ठगी गरी बेपत्ता भएका छन् । गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित बेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यावसायिक , सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भए ।
त्यस्तै करिब दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि बेपत्ता भएको महिनौँ भयो । जसका कारण बीएण्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईँले झुन्डिएर आत्महत्या गर्नुपर्यो । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिब ६ करोड रुपैयाँ डुबाएपछि त्यही पिरले प्रसाईँले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको छ ।