झापा, ८ भदौ । बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाईँको रहस्यमय मृत्यु भएसँगै स्थानीय नरेन्द्र मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा प्रसाईँका छोरा अर्जुनले मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुुभयो ।
बिर्तामोड नगरपालिका-५ सगरमाथा टोल निवासी ६१ वर्षीय प्रसाईँ बिर्तामोड–१ सिने प्लाजा अगाडि मैनालीको घरमा शुक्रवार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । सिलिङको पङ्खा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाई झुन्डिरहेको अवस्थामा प्रसाईँको शव फेला पारेको प्रहरी नायव उपरीक्षक विष्टको भनाई छ । प्रसाईको पोस्टमार्टम पछी बीएण्डसी अस्पतालमा शव राखिएको छ । मृतक प्रसाईका दुई छोरा र एक छारी रहेका छन् । छोरी अष्ट्र्ेलीया रहेकाले भोली आइतवार मात्र अन्त्येष्टी गरीने पारीवारीक श्रोतले वताएको छ ।
भ्रष्टाचार विरोधी अभियान समेत सञ्चालन गर्दै आएका प्रसाईँ जग्गाको समेत कारोबार गर्दै आएका थिए । प्रसाईँ र मैनालीले सहकार्य गर्दै हाइड्रोमा समेत लगानी गरेको बताइएको छ । प्रसाईँ मृत फेला परेको कोठा हाइड्रो पावर कम्पनीको अफिस रहेको बताइन्छ ।
युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फावा खोला जलविद्युत आयोजनाको काम गर्दै आएको बताइएको छ । सो कम्पनीको मैनाली अध्यक्ष हुन् ।
हाइड्रोपावर कम्पनीमा उनीहरू बीच साझेदारी रहेको र आर्थिक लेनदेन समेत उनीहरूमा भएको बताइन्छ । मैनालीले प्रसाईँको करोडौँ रुपैयाँ लगेको र सो रकम नदिएपछि मैनालीकै घरमा गएर प्रसाईँ झुन्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरीएको छ । प्रसाईँसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर मैनाली फरार भएको बताईएको छ ।
मृतक प्रसाई बीएण्डसी अस्पतालको स्थापनाकालमा शेयर सदस्य तथा दुर्गा प्रसाईका दाजु हुन् ।