Logo

बिर्तामोडवासीसंग दुर्गा प्रसाईँ आक्रोशीत: म मरे भने मलामी पनि नआउनु



झापा, ५ माघ । राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले बिर्तामोडबासीसंग आक्रोश पोख्नु भएको छ । बिर्तामोडबासीहरुले नपत्याएर कार्यक्रममा नआएपछि बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँ आक्रोशित हुुनुभएको हो ।

करिब डेढ महिनाको हिरासत बसाइँपछि घर फर्किएका नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँको स्वागत तथा सम्मानमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोडबासीहरुको खासै उपस्थिति थिएन । उहाले जिल्ला बाहिरबाट सहभागी ल्याएर कार्यक्रम गरेको बुुझीएको छ ।

बिर्तामोडबासीहरुप्रति अत्यन्त आक्रोशित देखिएका प्रसाईँले भन्नुभयो,‘ म मरे भने मलामी पनि नआउनु ।’ उहाले बिर्तामोडका मानिसहरूलाई जिउँदो लासको संज्ञा दिँदै आफ्नो अभियानलाई साथ नदिएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

बीएण्डसी अस्पताल खोल्न लाग्दा खिल्ली उडाएको बिर्तामोडको समाजले अहिले पनि नपत्याएको उहाको गुनासो थियो ।‘यहाँको समाजले मलाई देखेर हाँस्न छाडेको छैन, पत्याउँदै पत्याएन’ उहाले भन्नुभयो,‘ यो कुरा बुझ्नुस् १८ प्रतिशत बैङ्कको ब्याजदर मेरै कारणले ७ प्रतिशतमा झरेको हो । ’

बीएण्डसी मेडिकल कलेज भर्खरै सञ्चालन गरेका प्रसाईँले आफूले बिर्तामोडमा हिन्दु विश्वविद्यालय खोल्न लागेको जानकारी दिनुभयो । उहाले नेपाल हिन्दु विश्वविद्यालय दर्ता गर्न जाँदा हिन्दु भन्ने शब्दलाई सरकारले ब्लाकलिस्टमा राखेर दर्ता नदिएपछि सर्वोच्च अदालतमा गएको जानकारी दिनुभउो । उहाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बोलाएर सो विश्वविद्यालयको भूमि पूजन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्