Logo

बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण



बिर्तामोड, १६ माघ ।  हेल्पिङ हेण्डले बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बुधबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।

नगर अस्पतालको सेवालाई थप प्रभावकारी र सुविधा सम्पन्न बनाउन विभिन्न १३६ प्रकारका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारी स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्राप्त स्वास्थ्य उपकरणले थप सहयोग गर्ने बताउनुभयो ।

अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्नेमा सभामुख घिमिरेले जोड दिनुभयो । हेल्पिङ हेण्डले करिब ६९ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका खानेपानी मन्त्री एकराज कार्कीले सामाजिक कार्यमा हेल्पिङ हेण्डले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

प्रदेश सांसद तिलचन पाठकले अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउनका लागि प्रदेश सरकारले समेत आवश्यक तयारी र व्यवस्थापन गरिरहेको बताउनुभयो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार नगर अस्पतालमा दैनिक उपचारमा आउने बिरामीको सङ्ख्या थपिँदै गएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्थापनसँगै अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी उपचारका लागि आइरहेका छन् ।

स्थापनाको छोटो अवधिमा नै एउटा भरपर्दो स्वास्थ्य प्रतिष्ठानका रुपमा नगर अस्पताल विकसित भएको नगर प्रमुख प्रसाईले बताउनुभयो । अस्पतालको सेवालाई थप फराकिलो बनाउने गरी नयाँ भवनको निर्माण कार्य चलिरहेको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्