काठमाण्डाै, २६ पुस । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै तयार पारेकाे प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । उनीहरू सबैलाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले अध्ययन गर्न शुरू गरेको छ ।
लामिछाने जिल्ला अदालत कास्कीबाट हिजोमात्रै ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी कास्कीबाट धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
कास्की प्रहरीको हिरासतमै रहेका बेला गएको कात्तिक १९ गते जिल्ला अदालत रुपन्देहीबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।