Logo

भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा



काठमाडौं, ९ भदौ । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

खेलमा गोल भने नेपालले खाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा भुटानले खेलको ५६ औँ मिनेटमा अग्रता बनाएको थियो ।

भुटानका लागि जेत्सुन दोर्जीले उत्कृष्ट गोल गर्दै सातदोबाटो खेल मैदानमा नेपाली समर्थकलाई पनि स्तब्ध बनाइदिए ।

तर खेलको ७८ औँ मिनेटमा निराजन धामीले गोल फर्काउन सफल हुँदै नेपालको आशा जीवितै राखेका थिए। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ नेपाली किपर चम्किँदा भुटान सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्