चितवन, १ माघ । चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटेको गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो । उनी भैँसी चराउन गएका बेला गैंडाले आक्रमण गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी नगरपालिका- ३ घर भएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन् ।
उनीहरुमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ । उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ ।