काठमाण्डाै, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो ।
पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डाै आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।