मेचीनगर, २८ माघ । झापाको मेचीनगर र भद्रपुरलाई जोड्ने हडिया खोलामा नयाँ पुल निमार्ण हुने भएको छ । मेचिनगर १५ बाट भद्रपुर ९ जोड्ने सडकमा हँडिया नदिमा नयाँ पुल बनाउन संघिय सरकारको अर्थ मन्त्रालयले बहुबर्षिय श्रोत सहमति गरेपछि नयाँ पुल बन्ने पक्का भएको हो ।
वर्षाैँदेखि भत्केर जोखिमको अवस्थामा रहेको पुल निमार्णका लागि अर्थ मन्त्रालयमार्फत २०८४ सम्मका लागि बहुबर्षिय आयोजनाका लागि बजेट छुट्टिएको प्रतिनिधी सभाका सासंद विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
सासंद शर्माकै पहलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री बिष्णु पौडेलसँगको छलफल पछि अर्थ मन्त्रालयले यो बर्ष ८५ लाख, आगामी आर्थिक बर्ष ०८२/८३ मा १६ करोड ६८ लाख ४९ हजार तथा आर्थिक बर्ष ०८३/८४ मा १५ करोड ८३ लाख ४९ हजार निकासा गर्ने गरि बहुबर्षिय श्रोत सहमति दिएको हो ।
कुल ३३ करोड ३६ लाख ९९ हजारको लागतमा पुल निर्माण हुने र यसको ठेक्का चालू आर्थिक वर्ष २०८१/०८२ मै लगाइने सासंद शर्माले जानकारी दिनुभयो ।
लामो समय देखि हडिया पुल भत्केर जोखिममा रहेको भएपनि केही महिना अघि सवारी चल्नै नमिल्ने गरि पुलमा भ्वाङ परेपछि यसको निमार्णको बिषय जोडतोडले उठेको थियो । केही साता सवारी आवागमन समेत अवरुद्ध भएपछि हाल बालुवा ढुंगाले भ्वाङ पुरेर जोखिमपुर्ण यात्रा भइरहेको छ । पूर्वी नाका काँकरभिट्टालाई झापाको एकमात्र एयरर्पोट भद्रपुर एयरपोर्ट सम्म जोड्ने सडकमा पर्ने यो पुल जिर्ण हुदाँ दैनिकरुपमा जोखिम मोलेर यात्रा गर्न सर्वसाधारण बाध्य रहेका छन् ।
स्थानीय स्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत इटहरी स्थित कार्यालयले पुल निर्माणको छिट्टै ठेक्का लगाउने सासंद शर्माको भनाई छ ।