नेपालगन्ज,१० असोज । बाँकेको राप्तीसोनारी ४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी ४ धामपुर बर्काटोलस्थित बिलौनादेखी अगैयातर्फ जाँदै गरेको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको भे १२ प ८४२० नम्बरको मोटरसाइकल बिहिबार दिउँसो ठोक्किएको थिए ।
सो दुर्घटनामा परेर भे ७ प ४३४० नम्बरको मोटरसाइकल चालक नेपालगन्ंज उपमहानगरपालिका २० राझाँ बस्ने वर्ष ४७ का लोक बहादुर बंसी र भे १२ प ८४२० नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी ६ फत्तेपुर बस्ने वर्ष २५ का राधेश्याम थारु गम्भीर घाइते हुनुभएको थियो ।
दुवै जना घाइतेको उद्धार गरेर तत्काल नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा लोक बहादुर बंसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरिक्षक भद्रसिंह वलिले बताउनुभयो । उहाँले सो दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका राधेश्याम थारुको नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ । केही दिनअघि मात्रै सोही सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।
नेपालगन्ज–अगैया सडक खण्डमा पर्ने सो हुलाकी सडकको निर्माणपछि सडक राम्रो भएको र सवारीसाधन धेरै नचल्ने हुँदा खाली सडक पाएर मोटरसाइकल चालकहरुले तिव्र गतिमा मोटरसाइकल चलाउँदा पटक पटक दुर्घटनाहरु हुने गरेको स्थानीयको भनाइ छ ।