Logo

मोदीजी र म मिलेर ईपिजी बनाएका हौं, अब अघि बढ्छः प्रधानमन्त्री ओली



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफँै रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।

शनिवार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उहाँले इपिजी बनाउनेहरु नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताउनु भयो ।

उहाँले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताउनु भयो ।

उहाँले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धी गर्ने काम गर्न नहुने अडान पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता औैंलाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्