Logo

यातायात कार्यालयबाट ९ जना बिचौलिया पक्राउ



झापा, २२ चैत । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको अखडा बनेसँगै सेवाग्राहीहरू ठगिने क्रम बढेको छ ।यातायातका कर्मचारीको संलग्नतामा बिचौलियाहरूले कार्यालयको छाप र अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी सेवाग्राहीहरूको लाखौँ रकम ठगेको घटना बाहिरिएसँगै झापा प्रहरीले शुक्रबार दिउँसो ९ जना बिचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडका खटिएको टोलीले यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई ठगिने उद्देश्यले बिचौलियाको काम गर्दै आइरहेका बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय सुरज आचार्य, सोही ठाउँका ४२ वर्षीय तुलसी खतिवडा, २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया सीता भेटवाल, २९ वर्षीय रोशन आचार्य, बिर्तामोड–५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड–३ का २६ वर्षीय युवराज लिम्बू, बिर्तामोड–२ का २४ वर्षीय टंकप्रसाद राजवंशी र कनकाई नगरपालिका–१ का २० वर्षीय दिवस राईलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार लामो समयदेखि यातायात कार्यालयमा लेखापढी ९बिचौलिया०को काम गर्दै आएका कनकाई नगरपालिका निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौँ रकम लिएर फरार भएका छन् ।

बिचौलिया भण्डारीले मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका गाडीहरूको बुलुबुकको कर तिर्ने भनी सेवाग्राहीहरूबाट उठाएको रकम यातायात कार्यालयको राजश्वमा दाखिला नगरी कागजात मिलाएर नवीकरण गरिदिने गरेको घटना पीडित सेवाग्राहीहरूबाट बाहिर आएको छ ।

भण्डारीले कसैलाई फर्जी बिल र कागजात उपलब्ध गराएको र कयौँको मोटरसाइकलसमेत बिक्री वितरण भए पश्चात् नामसारी नगरेको पाइएको साथै बुलुबुकमा आफैँले मिति, सही र छाप राखी ठगीमा परेको स्वयम सेवाग्राहीहरू बताउँछन् ।

बिचौलियाले सेवाग्राही ठगी गरेको घटना छताछुल्ल हुँदा समेत यातायात कार्यालयले यसतर्फ चासो नदेखाएपछि त्यस्ता बिचौलिया समात्न प्रहरीहरू सादा पोसाकमा आफै सेवाग्राही बनेर यातायात कार्यालय पुगेका थिए ।

प्रहरीले बुलुबुक, लाइसेन्स नवीकरण गरिदिए बापत अतिरिक्त शुल्क माग्ने, कार्यालयका कोठाहरू सोझै प्रवेश गर्नेहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्