Logo

युनियन र चौतारीबीच भागबण्डा गर्ने सहमति, अध्यक्षमा चौतारीबाट शर्माको उम्मेदवारी



काठमाडौँ, २१ मंसिर । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा प्रेस युनियन र प्रेस चौतारीबीच भागबण्डा गर्ने सहमति भएको छ । भागबण्डाअनुसार महासंघको चुनावमा दुवै संगठनले मिलेर उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

महासंघको अध्यक्षमा प्रेस चौतारीले उम्मेदवारी दिने र प्रेस युनियनले सहयोग गर्ने सहमति भएको छ । सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा उम्मेदवारी दिनेछ ।

यस्तै, प्रेस युनियनले वरिष्ठ उपाध्यक्ष, महासचिव, खुला सचिव, एसोसियट सचिव र मधेसी सचिवलगायतको पदमा उम्मेदवारी दिने सहमति भएको छ । दुवै संगठनले प्रदेश र जिल्लाको नेतृत्व समेत टुंगो लगाएका छन् । जसमा प्रदेशका १० मध्ये ६ मा युनियन र ४ मा चौतारीले लिने सहमति भएको छ भने ७७ जिल्लामध्ये ३६ मा चौतारी र ४१ जिल्लामा युनियनले अध्यक्ष लिने सहमति गरेका छन् ।

सहमतिअनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्षमा युनियन तथा कोशी, मधेश, कर्णाली र उपत्यकाका अध्यक्षमा चौतारीले उम्मेदवारी दिनेछ ।

प्रेस चौतारीले अध्यक्षमा निर्मला शर्माको नाम टुंगो लगाइसकेको छ भने महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा देविका घर्ती र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीलगायत उम्मेदवार हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्