Logo

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी



काठमाण्डौ, २३ माघ ।  सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने आज अदालतमा उपस्थित भएका हुन् । उनीसँग आजैदेखि बयानको तयारी छ ।

बयान सकिएपछि थुनछेक बहस शुरू हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

हिजो लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । योसहित सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ पुगेको छ ।

यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज ८ गते सरकारी वकिलको कार्यालयले लामिछानेलगायतलाई छुटाएर १७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

त्यस क्रममा सरकारी वकिलको कार्यालयले ‘सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको’ भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा हिजो लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने सहकारी प्रकरणपछि निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्