झापा, ५ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्ता एवं आम नागरिकलाई आग्रह गर्नुभएको छ ।
नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरस्थित एन.सि.डि.सि. भवनमा आयोजित प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका सिटौलाले सबै नीतिहरुको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै यसप्रतिको नकारात्मक धारणा त्याग्न आग्रह गर्नुभएको हो ।
नेपाली कांग्रेस पार्टी लोकतन्त्रको संवाहक भएकाले हरेक परिवर्तनहरुको अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै पूर्व महामन्त्री सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीलगायतले शुभकामना मन्तब्य राख्नुभयो ।
नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रम ३ नम्बर क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । शिला तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रमिला कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहालले, संविधान एवं कानूनमा महिला अधिकार सम्बन्धी ब्यवस्थाका विषयमा शान्ता पाठकले र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल महिला संघ झापाको आयोजना र क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल महिला संघ जिल्ला सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापा क्षेत्र नं–१, २ र ३ मा प्रशिक्षण सम्पन्न भएको छ भने ४ मा बिहीबार र ५ मा शुक्रबार प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।