काठमाडौं, १२ वैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्यो भन्ने गलत भाष्य निर्माण भइरहेको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’
लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । उहाले सरकारले अहिले विपक्षीहरूलाई निरंकूशतावादी व्यवहार देखाएको आरोप लगाउनुभयो ।