झापा, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले बिर्तामोड नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
बिर्तामोड नगरपालिकामा अनियमितता, भ्रष्टाचार र विकृति देखिएको भन्दै त्यसविरुद्ध राप्रपा बिर्तामोड नगर समितिले ज्ञापनपत्र बुझाएको हो ।
राप्रपाका बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई २८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नगरपालिकामा भइरहेको अनियमितता , कृषि बजारको विकृति, शिक्षा क्षेत्रमा देखिएको समस्या , जग्गा अतिक्रमणजस्ता विषयलाई उठाइएको छ ।
ज्ञापनपत्रमा बिर्तामोड नगरपालिकाभित्र विकास निर्माणका कार्ययोजनाहरु सम्पन्न भइराख्दा अनुगमन समितिले कागजीरुपमा मात्र अनुगमन गर्ने गरेको आरोप लगाउँदै अनुगमनलाई पारदर्शी र सहज बनाउन नियमित अनुगमन गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै उपभोक्ता समिति निर्माण गर्दा एकदलीय प्रभावबाट नभई सर्वदलीय प्रभाव एवं टोल विकास संस्थाको उपस्थितिमा उपभोक्ता समिति निर्माण गरि विकास निर्माणमा सबैको अपनत्व रहने व्यवस्थाको थालनी गर्न माग गरिएको छ ।