Logo

राप्रपाले सबै जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र



काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

नवीन समझदारीको माग गर्दै ज्ञापन पत्र बुझाउनु अघि धर्ना पनि दिएको थियो ।

ज्ञापन पत्र र धर्नाअघि जिल्ला सदरमुकामहरूमा प्रदर्शनहरूसमेत भएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित बन्दी बनाइएकाहरूलाई बिना शर्त रिहाइ हुनुपर्ने राप्रपाको माग छ ।

यस्तै, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा आज देशैभर सडकमा ओर्लिएको उनले बताए । उनले सशक्त आन्दोलनको बलियो आधार तयार पार्दै गइरहेको बताएका छन् ।

झापामा शक्ति प्रदर्शनसहित राप्रपाले बुझायो ज्ञापनपत्र

कोशी प्रदेश अध्यक्ष राम थापाको नेतृत्वमा केन्द्रीय सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरु राजकुमार पोखरेल, अन्जार आलम, झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थितिमा विद्युत प्राधिकरणपूर्व खाली मैदानमा भेला भई विभिन्न नारा लगाउँदै र्यालीसहित चन्द्रगढी बजार परिक्रमा गरेको थियो ।

सहभागीहरुले ‘गणतन्त्र मुर्दावाद,भ्रष्ट सरकार मुर्दावाद ,तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर , राजतन्त्र जिन्दावाद , हिन्दुराष्ट्र कायम गर,आस्थाका बन्दी रिहा गर , संघीयता खारेज गर , सरकारको घुसपैठ बन्द गर’ जस्ता नारा लगाएका थिए ।

प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय सदस्यहरु राजकुमार पोखरेल, अञ्जार आलम, जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए भने अन्य सहभागीहरुले गेट बाहिर नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्