Logo

राष्ट्रपति भण्डारी चीन प्रस्थान



काठमाडौं, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान उत्तरी छिमेकी देश चीन प्रस्थान गरेकी छन्। भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग चीन प्रस्थान गरेकी हुन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल,प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना,गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन विमानस्थल पुगेर बिदाई गरेका हुन्।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ। चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ।

सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्नेछन्। सियान चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मस्थल पनि हो। सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छन्। त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन्।

यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ। राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ।

बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बत आउनेछन्। तिब्बत भ्रमण सकेर उनी वैशाख १९ गते स्वदेश पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्