Logo

‘वर्ल्ड अफ डान्स’ अब नेपालमा



काठमाडौं, २३ पुस । विश्वका २५ देशहरूमा हुँदै आएको डान्सको चर्चित स्टेज ‘वर्ल्ड अफ डान्स’ (डब्लुओडी) अब नेपालमा पनि हुनेभएको छ । नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो । आयोजकका अनुसार आगामी माघ २४ गते बिहीबार यो प्रतियोगिता हुँदैछ । यसमा देशैभरिबाट आवेदन परेका डान्सरहरूले विभिन्न चरण पार गर्दै विजेता बन्न सक्नेछन् । हालसम्म डिजिटल अडिशनबाट तीन सयभन्दा बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ ।

यो रियालिटी शो नभई एक डान्स कम्पिटिशन हो, जसमा डिजिटल, फिजिकल अडिशन पार गर्दै विजेता छनौट गरिने जनाइएको छ । विजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखि जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन्, जसमा २५ देशका विजेताहरूबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा सहभागी हुने टिमहरूलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समूहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ वर्षभन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, जसमा १८ वा १८ वर्षभन्दा मुनिका डान्सरहरूले सहभागी हुन पाउनेछन् ।
सहभागी तीन डिभिजनकै विजेताले एकरएक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै, अमेरिकामा हुने डब्लुओडीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा विजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ ।

सिनिअर टिम डिभिजन र जुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लुओडीमा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म नृत्यकै लागि भनेर यस्तो किसिमका शो नआएको भन्दै उहाँले डब्लुओडी नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरूका लागि उत्कृष्ट शो बन्ने विश्वास दिलाउनुभयो । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहनुभएको छ भने शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्