काठमाडौँ, ९ असोज। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताउनुभएको छ।
बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका दलहरुको सरकार बनेको बताउनुभएको हो।
उहाँले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयक समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताउनुभयो।
उहाँले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताउनुभयो।
उहाँले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनै पनि विधेयक संसदमा नलैजाने बताउनुभयो।