काठमाडौं, २८ भदौ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । यसअघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै हुनुहुन्छ । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।
नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहनुभएको छ । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उहाँकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।