काठमाडौं, १२ माघ । सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १८ अर्ब ७० करोड डलर पुगेको छ ।
विशेषगरी युक्रेन र इजरायलमा हुने विक्रिमा ठूलो वृद्धि देखिएको विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । हतियार बिक्रीको वृद्धि यो वर्ष पनि बढ्ने देखिएको छ । किनकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशहरुले जीडीपीको पाँच प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने एजेन्डा बलियो बनाउने अनुमान छ ।
विश्वका विभिन्न क्षेत्रमा भइरहेको युद्धका कारण अमेरिकाबाट हतियार किन्ने निवेदन अमेरिकी रक्षा मन्त्रालयमा थुप्रिएका छन् । सन् २०२४ मा टर्कीमा २३ अर्ब डलरको एफ–१६ जेट बिक्री र स्तरोन्नती, इजरायलमा झन्डै १९ अर्ब डलरको एफ–१५ लडाकू जेट र रोमानियामा साढे दुई अर्ब डलरको एम वन ए टू अब्राम्स ट्याङ्क पनि बिक्री भएका थिए । यी निकै ठूला कारोबार हुन् ।
विदेशी सरकारहरूले अमेरिकी कम्पनीहरूबाट हतियार खरिद गर्ने दुई वटा प्रमुख तरिकाहरू छन् । एउटा सिधैं अमेरिकी कम्पनीसँग खरिद वा अमेरिकी सेना र रक्षा विभाग हुँदै गरिने खरिद रहेकाे छ । तर दुवै खरिदको लागि अमेरिकी सरकारको स्वीकृति चाहिन्छ ।
अमेरिकी कम्पनीहरूको प्रत्यक्ष हतियार बिक्री आर्थिक वर्ष २०२३ मा एक खर्ब ५७ अर्ब ५० करोड डलरबाट बढेर २०२४ मा दुई खर्ब आठ अर्ब डलर पुगेको छ । जबकी अमेरिकी सरकारमार्फत भएको बिक्री २०२४ मा एक खर्ब १७ अर्ब नौ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष ८० अर्ब ९० करोड डलर थियो ।