Logo

समयानुकुल सहकारीमैत्री ऐन, नियमहरु बनाउन अध्यादेश ल्याएका हौँ: देउवा



काठमाडौँ, १९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताउनु भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाँले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचतकर्ताहरु पीडित भएको बताउनु भयो ।

सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताउनु भयो । उहाँले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ । आम नागरिकहरुले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ वचतकर्ताहरु सहकारी पीडित भएका छन् । त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा वचतकर्ताहरुको वचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो । सहकारीकै कारण सामुदायिकको स्वावलम्वीकरण, गरिवी उन्मुलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । यसका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्दछ ।’’

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्