Logo

सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः अध्यक्ष लिङ्देन



झापा, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न लागिपर्ने बताउउनु भएको छ ।

बाल दिवसका अवसरमा शनिबार बाल सञ्जाल भद्रपुर–७ द्वारा आयोजित ‘विद्यार्थीहरूसँग सांसद कार्यक्रम’मा उहाले सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गरिनुपर्ने बताउनु भयो । “अहिलेको शिक्षा नियमावलीका कारण भइरहेको विभेद अन्त्य गर्न अर्को ऐन संसद्मा छलफलकै क्रममा छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “बालबालिकाले दुई थरीको शिक्षा पाउने अवस्था अन्त्यका लागि आफ्नो तर्फबाट दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता जनाउँछु ।”

सरकारी उदासीनताका कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताउँदै उहाले अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन सोहीअनुसारको शिक्षा जरुरी रहेकामा जोड दिनुभयो ।

यस्तै प्रदेश सभा सदस्य छविलाल चुडालले शिक्षा सरकारी र निजी नहुने भन्दै कुनै विभेद सिर्जना गर्नेगरी शिक्षाको अवधारणा नआएको बताउनु भयो ।

नगर युवा परिषदका अध्यक्ष आरोग्य तिम्सेनाले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले पछिल्लो समय बालबालिका लागूऔषधको दुर्व्यसनमा फस्न थालेकोमा चिन्ता गर्दै यस्ता विकृतिमा बालबालिका फसाउनेहरूसित सावधान रहन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्