काठमाडौँ, २६ असार । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार फरक रहेको तलबमान आगामी आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने छ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो ।
आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ । सर्वोच्चको आदेशमा भनिएको छ, “कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आगामी आव २०८१/०८२ को सुरुबाट नै सुरु तलबमान आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ ।’’
अहिले समान मर्यादाक्रममा अघि रहेका निजामती सेवाका सहसचिव तथा सोसरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादाक्रममा पछि रहेका सुरक्षा निकायका अधिकारीको पारिश्रमिक बढी छ । सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन् । सुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब उपरीक्षकलगायतको पारिश्रमिक ६० हजार ९५० छ । आदेशानुसार अब पारिश्रमिक पुनरवलोकन हुने छ ।
यस्तै समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिव वा सोसरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ । उपसचिवको सुरु तलबमान ४८ हजार ७३७ छ । सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ ।
यस्तै निजमती सेवाका शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । मर्यादाक्रममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ रुपियाँ छ । सुरक्षा निकायतर्फ पनि प्रहरी निरीक्षकको तलबमान भने निजामतीसरह छ, गोरखापत्रमा खवर छ ।