काठमाडौं, २४ साउन । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरता दिनका लागि काँग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताउनु भयो ।
उहाँले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताउनु भयो । उहाँले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताउनु भयो । उहाँले निर्वाचन सँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताउनु भयो । उहाँले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरुलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताउनु भयो । उहाँले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरुलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताउनु भयो ।
उहाँले युवाहरुलाई उसको सोच र योजनालाई धरौटीको रुपमा राखेर राज्यले लगानी गर्नुपर्ने बताउनु भयो ।