काठमाडौं, २८ पुस । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा अहिले वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गए रातिदेखि मौसम बदली भएकोमा सुदूरपश्चिम र कर्णालीमा भने वर्षा र हिमपात भइरहेको हो ।
आज बैतडी, सुर्खेत, अछाम, डोटी, कैलाली, दैलेख, बाँके, मुगु, हुम्ला कञ्चनपुरलगायतका केही जिल्लामा वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार गएरातिदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रको माथिल्लो भागबाट बदली शुरू भएको र यो फैलिने क्रममा छ । बेलुका मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाग्मती र गण्डकीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलिदेखि मौसममा सुधार हुने मौसमविद्को अनुमान छ ।
तराईका कतिपय क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै छ । देशभर चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।