काठमाडौं, २० फागुन । ९ कारोबार दिनमा २११ अंकले बढेको सेयर बजारमा अल्पकालिन कारोबारी हाबी हुँदा पछिल्लो २ दिनमा ४४ अंकले ओरालो लागेको छ । छोटो समयमा बजार बढेको मौकामा नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा सेयर बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको हो ।
मंगलबार नेप्से सूचक ३०.३६ अंकले घटेको छ । यससँगै सूचक २८४६.३० अंकमा अडिएको छ । आज १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । सोमबार १३ अंकले बजार घटेको थियो । ट्रेडरहरुले प्रोफिट बुक गर्दा बजार प्रभावित भएको हो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको शेयर निरन्तर १६ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको१ अर्ब ९ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।