काठमाडौं, २५ कात्तिक । स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि ९आइतबार र सोमबार० कोशी प्रदेशसहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ ।
तर मंगलबार भने आइतबार र सोमबारको तुलनामा केही ठूलो वर्षा हुने छ । उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसमविद मानन्धरको भनाइ छ । यद्यपि कात्तिक १८ र १९ गतेको जस्तो ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ ।
कात्तिक १८ र १९ गतेपछि खासै वर्षा नभएकाले वायु प्रदूषण बढेको छ । वायु प्रदूषण शहरी क्षेत्रमा अझ बढी देखिन्छ । वायु प्रदूषणलाई हटाउन ठूलो वर्षा आवश्यक पर्दछ । तर तत्काल वायु प्रदूषण पखालिने गरी ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद मानन्धर बताउँछिन् ।
तर अर्का मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा। विनोद पोखरेल भने पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा गराउन सुरु गरेको र यो अवस्था आगामी बुधबारसम्म रहने सम्भावना रहेकाले वायु प्रदूषण केही हदसम्म घटाउन मद्दत पुग्ने बताउँछन् ।
‘एकदमै खतरनाक वायु प्रदूषणले पाकिस्तान र भारतमा धेरै दिनदेखि जनजीवन प्रभाव परेको छ । यो वायुप्रदूषणले नेपालको तराईलाई छोइसकेको अवस्थामा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा गराउन सुरु गर्यो र यो अवस्था बुधबारसम्म रहने भएकाले थोरै राहत हुने देखिन्छ,’ डा। पोखरेल भन्छन् ।
काठमाडौं उपत्यकामा पनि बिहानको समयमा वायु प्रदूषण बढेको देखिन्छ । आज बिहान पौने सात बजेसम्मको समयसम्म काठमाडौं उपत्यकाका रत्नपार्क, खुमलटार र भक्तपुर तथा चितवनको भरतपुरमा वायु प्रदूषणको स्तर अत्यन्त खराब अवस्थामा पुगेको छ । यसैगरी बाँकेको नेपालगञ्ज र धनकुटामा पनि वायु प्रदूषण बढेको देखिन्छ ।