Logo

हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गर्‍याे



काठमाडौं, १२ माघ ।  युद्धविरामको सम्झौता अनुसार प्यालेस्टाइनको विद्रोही समूह हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । रिहा भएका चारै जना महिला हुन् । हमासले चार जनालाई रेडक्रसको जिम्मा लगाएपछि रेडक्रसकै गाडीले उनीहरुलाई इजरायली सीमासम्म पुर्‍याएको थियो । त्यसपछि सेनाको हेलिकप्टरमा इजरायलको राजधानी तेल अविव लगिएको बीबीसीले जनाएको छ ।

बन्धकहरूको रिहाइपछि तेल अविवमा खुशीको वातावरण देखिएको छ । जहाँ, परिवारका सदस्यहरू घण्टौंसम्म आफ्ना प्रियजनहरूको फिर्तीको प्रतीक्षामा थिए । हमासले यसअघि गएको सोमवार तीन जना इजरायली बन्धक रिहा गरेको थियो ।

इजरायलले पनि दुई सय जना प्यालेस्टाइनी बन्दी रिहाईको तयारी गरेको छ । जसमध्ये एक सय २० जना जन्मकैदको फैसला भएका व्यक्ति रहेका छन् । युद्धविरामको पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । नेपालका विपिन जोशी पनि हमासको कब्जामा छन् । सरकारले उनको रिहाइको लागि पनि निरन्तर पहल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्