Logo

‘हिंसा’ शब्द रेकर्डबाट नहटेसम्म माओवादीले संसद् बैठक अवरोध गर्ने



काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसद्मा पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभएको हो ।

बैठकले संसद् अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउँदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफूहरुको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताउनुभयो । सभामुखले रुलिंग गरेको विषय संविधान र शान्ति सम्झौता बमोजिम नआएको बताउँदै आफूहरु निरेपक्ष रुपमा शब्दको पछि नलागेको र सिंगो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताउनुभयो ।

बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो र संसद्को बैठक स्थगित भएको थियो ।

बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको भएपनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको निष्कर्ष निकालेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्