Logo

३१ परियोजनामा २५ खर्ब वैदेशिक लगानीको प्रस्ताव



काठमाडौं, ८ चैत । सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशमा लगानीकर्ताले २५ खर्ब रुपैयाँ नेपालमा लगानी गर्न चासो देखाएका छन् । सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गरेको थियो। जसमा ६ सय विदेशी लगानीकर्ताहरुले सहभागिता जनाएका थिए ।

लगानी बोर्डले आइतबार गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेको जानकारी दिए । सिइओ अधिकारीका अनुसार कृषि, स्वास्थ्य तथा शिक्षा, ऊर्जा, उद्योग, यातायात र शहरी पूर्वाधारमा विदेशीले लगानीका लागि आवेदन परेको छ ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ्य तथा शिक्षाका २ परियोजनामा २, ऊर्जाका ७ परियोजनामा ८, उद्योगको १ परियोजनामा १, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायातका ९ परियोजनामा २२ र शहरी विकासमा ४ परियोजनामा ५ आवेदन परेको बोर्डले जनाएको छ । बोर्डले आवेदनका लागि ३५ दिनको समय दिएको थियो । २७ परियोजनाका विकासकर्ता तीन महिनाभित्र बोर्ड टुंगो लगाउने समेत अधिकारीले जानकारी दिए ।

लगानी सम्मेलनमा सरकारले ५० सरकारी र २७ निजी गरी ७७ परियोजनाहरु लगानीकर्तासामू पेस गरिएको थियो । आवेदन दिएका मध्येलाई परियोजनामा लगानी गर्न कसरी दिने भनेर मूल्या‌ंकन गर्ने सिइओ अधिकारीको भनाइ छ । अधिकारीका अनुसार निजगढ विमानस्थल निर्माणका लागि नै ६ वटा आवेदन परेका छन् । सरकारले ३० खर्ब लगानी जुट्ने अपेक्षा गरेको थियो । जसमा २५ खर्बको आवेदन पर्नु सकारात्मक भएको सिइओ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्