Logo
  माघ २१, २०७९ शनिबार

विलक्षण प्रतिभाका धनी महाकवि



पुण्यप्रसाद खरेल
नेपालीलाई संसारसँग परिचित गराउने, नेपालीको गौरव बढाउने नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा एक असाधारण नेपाली साहित्यकार थिए । ‘के नेपाल सानो छ’ भन्ने निबन्धमा उनले लेखेका छन्–  “यहाँ सान्डोले दाउराका भारि बोक्छन्, हेलेन केलरहरू गीत गाउँछन् … शेक्सपियरहरू हलो जोत्छन्, …टर्नरहरू भेडा चराउँछन्…” । पछि देवकोटाकै बारेमा बोल्दा धेरैले भने– “उनी गलत भूगोलमा जन्मिन पुगे” भनेर । अर्थात् उनको प्रतिभाले यहाँ प्रस्फुटित हुन पाएन, ठिँगुरियो । अनुकूल भूगोल भैदिएको भए नोबेल पुरस्कार पाउने व्यक्तिहरूको नामावलीमा देवकोटाको नाम पक्कै परेको हुन्थ्यो भन्न सकिन्छ । अझ मलाई नै त, उनी पुरा जीवन बाँच्न पाएका सम्म भए पनि रविन्द्रनाथ टेगोरपछि दक्षिण एशियाको दोस्रो नोबेल पुरस्कार प्राप्त साहित्यकार लक्ष्मीप्रसाद देवकोटा हुन्थे भन्ने लाग्छ ।
“मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ” जस्ता, “के हो ठुलो जगतमा ? पसिना विवेक” मानवतावादी कविता लेख्ने महाकवि म सम्झिन्छु, राणाकालमा जन्मेर राणाहरुको शासन सत्ता उल्टाउनका लागि बिदेश पनि पस्ने र खुलेर लोकतन्त्रका लागि साहित्यिक सृजना गर्ने एक कवि हुन् । छोटो जीवनकालमा सृजनाको यो खलियो छोड्ने नेपालको अनुपम प्रतिभाका धनी लक्ष्मीप्रसादको वारेमा लेखिरहँदा उहाँको न्याय गर्न सकिँदैन भनेर म धुकचुक मानिरहेको छु ।
वि.सं.१९६६ कातिक २७ गते नेपालीहरूको महान चाड लक्ष्मीपूजाका दिन बुबा तीलमाधव देवकोटा र आमा अमरराज्यलक्ष्मीका साइँला सुपुत्रको रुपमा काठमाडौंको डिल्लीबजारमा जन्मेका तीर्थमाधव देवकोटा नै लक्ष्मीको प्रसादको रुपमा जन्मन आएका ठानी उनका संस्कृतका विद्वान बुबाले ‘तीर्थमाधव’लाई ‘लक्ष्मीप्रसाद’ बनाइदिए । बुबाले राखेको नाम नै उनले उज्ज्वल बनाए, आफूलाई प्रख्यात पारे तर सरस्वतीको वरदपुत्र झैं भएर ।
प्रारम्भिक शिक्षा घरमै बुबाबाट ग्रहण गरेका उनले बालकैमा अमरकोश कण्ठ पारेका, स्तोत्रमाला मुखाग्र पारेका थिए । माध्यमिक शिक्षा दरबार हाई स्कुलमा प्राप्त गरेका उनी वि.सं.१९८२ मा त्रिचन्द्र कलेजमा आइएस्सीमा प्रवेश भए । आइएस्सी पास गरे पछि भने विज्ञान छाडेर उनले मानवीकी विषयमा बिए पास गरे र एम ए पढ्न छात्रवृत्ति पाएर १९८८मा पटना गए । तर त्यहाँ एम ए पढ्ने अनुकूलता नपरेपछि बिएल पास गरेर नेपाल फर्किए ।
दरबार हाई स्कुलमा पढ्दैदेखि साथीहरूलाई उनी कविता सुनाउँथे, तर साथीहरू उनले सुनाएका ती कविता उनले नै लेखेका हुन् भनेर पत्याउँदैन थिए । एक दिन शिक्षककै सामुन्ने उनलाई कविता लेखेर देखाउन भनियो । नभन्दै उनले त्यहीँ केही क्षणमै एउटा कविता लेखेर देखाए । यो प्रतिभाबाट प्रभावित भएका शिक्षकले उनलाई ‘कोपिलाउँदो कवि’को नाम दिए । घरमा बुबाले कविता लेख्तै उनलाई साफी गर्न लगाएकोबाट नै कविता सृजना गर्ने प्रतिभा उनमा प्रस्फुटित भएको थियो । यही कवित्वको विरुवा पछि गएर महाकवि जस्तो विशाल बटवृक्षमा परिणत भयो ।
हुन पनि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एक दैवीशक्ति प्राप्त कवि जस्तै भए । आशुकवि झैं छिनमै स्तरीय कविता सृजना गर्न सक्ने उनले बाल्यकालको कविताको जाँच जस्तो जाँच पछि आफ्ना साथीसङ्गतीहरू माझ पनि दिनु पर्यो । उनले ३ महिनामा सृजना गरेको ‘शाकुन्तल’ (महाकाव्य) वारे कुरा चल्दा नपत्याएर उनलाई एक महिनामा एउटा महाकाव्य लेखेर ल्याउन भनिएको प्रसङ्ग पढ्न पाइन्छ । तर उनले एक महिना होइन, दसै दिनमा ‘सुलोचना’ (महाकाव्य) लेखेर देखाएका थिए ।
साहित्यका सबै विधामा कलम चलाएका महाकवि देवकोटाका महाकाव्य, लघुकाव्य, कविता, कथा, निबन्ध, उपन्यास, नाटक आदि पचासौं कृतिहरू छन् । तर हामी आजका नेपालीहरू महाकवि देवकोटाको नाम मात्र सुनेको भरमा उनको एउटै कृति आद्योपान्त नपढी भुइँफुट्टा साहित्यकार भैरहेका छौं ।
चौध भाषा बुझ्ने महाकवि देवकोटाले नौ वटा भाषामा त आफ्ना सृजना नै पस्किएका छन् । यिनको विलक्षण प्रतिभाबाट प्रभावित भएर संसार प्रख्यात विद्वान राहुल सांकृत्यायनले त यिनलाई ‘गौतम बुद्धपछिको महान मानवअवतार’ भने । यिनै सांकृत्यायनले ‘भारतका प्रशिद्ध महान कविहरू सुमित्रानन्दन पन्त, जयशङ्कर प्रसाद तथा सूर्यकान्त त्रिपाठी ‘निराला’ जस्ता तिनै जना कविलाई तराजुको एकापटि पल्लामा राखेर अर्कापटि लक्ष्मीप्रसाद देवकोटालाई राख्ता बराबर हुन्छ’ समेत भने । कसैकसैले त यिनको जादुगरी कवित्व देखेर यिनलाई काव्यसागरका जलदेवता पनि भने ।
अहिले विश्वविद्यालयले एमए पढ्ने विद्यार्थीहरूलाई १०० पूर्णाङ्कको एउटा शोधपत्र गर्न लगाउँछ । त्यसरी शोध गर्ने व्यक्ति यदि यी महाकविको शोध गर्न पस्यो भने त्यसको के हविगत होला ! म अहिले अनुमान गर्छु । महाकविको वारे अध्ययन गर्ने वा उनको वारे जान्ने मान्छेको कुरा गर्दा भनिन्छ नित्यराज पाण्डे, कुमारबहादुर जोशीले चाहिँ उनलाई पढे, बुझे । अहिले पछाडि चूडामणि बन्धु, मोदनाथ प्रश्रितले पनि निकै पढे बुझे भन्ने कुरा आउँछ । होइन भने एकलो महाकवि देवकोटाका सृजना मात्रै पनि ‘अनन्तपारं किल शब्दशास्त्रम्’ झैं छन् । यसर्थ लक्ष्मीप्रसाद देवकोटा महाकाव्य लेखेवापत मात्र होइन, महान् कवि भएकैले महाकवि भएका हुन् भनेर स्तुत्य छन् ।
महाकविको वारे यदि भाँडाको भात चिन्न एक सिता छामे झैं गरी बुझ्ने हो भने भनिन्छ– ‘मुनामदन’ (काव्य), ‘शाकुन्तल’ (महाकाव्य) र ‘पागल’ (कविता) पढ्नू भन्ने गरिन्छ । बालकृष्ण सम त महाकवि देवकोटालाई उनी ३ पल्ट जन्मेका हुन्, उनी एक पल्ट ‘मुनामदन’मा जन्मे, अर्कोपल्ट ‘शाकुन्तल’ (महाकाव्य)मा जन्मे र फेरिपल्ट ‘पागल’ (कविता)मा जन्मे भन्छन् ।
पश्चिमका प्रशिद्ध कविहरू विलियम वर्डस्वर्थ, जोन किट्स, पि वि शेलीका कविताको गहिरो प्रभाव परेका महाकवि देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादी (रोमान्टिक) कवि भनेर प्रति प्रख्यात भए । दुःखी नेपालीहरूको कष्टपूर्ण जीवनबाट परिचित उनलाई नेपालीहरूको यो अवस्थाप्रति र यसबाट मुक्तिप्रति चिन्ता थियो । आफ्नो जीवनको पछिल्लो समय उनी साहित्यको समाजवादी यथार्थवादको नजिक आइपुगेका थिए । नेपालको शासनसत्ता मालिक वर्गको हित रक्षक भएको र उनीहरू भाट साहित्यको पोषक रहेकाले उनीहरू महाकवि देवकोटाप्रति नकारात्मक बन्दै गए ।
पछिल्लो समय रुसमा हुने साहित्यिक सम्मेलनमा भाग लिन जान उनलाई रोक्न खोजियो । तर युद्धप्रसाद मिश्रले “म आफू नै आफ्ना कविताको वादशाह हुँ” भने झैं देवकोटा पनि आफूलाई आफ्नै बादशाह ठान्ने स्वाभिमानी थिए । त्यसैले उनी रोकिएनन् ।
परिणाम उनकै सोचमा बनेको प्रज्ञाप्रतिष्ठान र उनको आफ्नै प्रतिभाबाट बनेको त्यहाँको आजीवन सदस्यताको विद्वत् वृत्ति पनि उनी विमारी भएर मृत्युशैयामा भएको समयमा रोकेर राज्यले कृतघ्नता देखायो ।
देवकोटाका बाँचुन्जेलका साथी दुई थोक हुन् भन्छन्– एउटा उनको कविता र अर्को चुरोट । यथार्थमा उनको पछिल्लो साथी चुरोट नै हामी सम्पूर्ण नेपाली साहित्यिक जगतको भने निठुर वैरी भयो । उनलाई ५० वर्षको अल्पायुमै २०१६ भदौ २९ गतेका दिन घातक क्यान्सर रोगले हामी सबबाट चुँडेर लग्यो ।
म आज पनि कुरै कुरामा मानिसहरूका मुखबाट “उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक” सुन्दा वा “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” भनेको वा ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेको सुन्दा प्रिय महाकविलाई आफ्नै वरिपरि रहेको जस्तो महसुस गर्छु र थुम्थुमिन्छु । भावपूर्ण श्रद्धान्जलि महाकव देवकोटालाई !
मिति ः २०७२÷७÷२५ मा
 

प्रतिक्रिया दिनुहोस्