पुण्यप्रसाद खरेल ।
झापा जिल्लामा साहित्यमा कलम चलाउने स्रष्टाहरूको बगालमा टाढैबाट छर्लङ्ग देखिने उचाइ प्राप्त गरेका साहित्यकार हुन् नकुल काजी । धेरै जसोले नकुल काजीलाई पत्रकारको रूपमा चिन्छन् । हुन पनि उनी झापाली पत्रकारहरूमा स्वाभाविक रूपमा बटवृक्ष हुन्, अर्थात् उनी सबैजसोमा अभिभावकीय प्रभाव छोडेका व्यक्ति हुन् । ‘विवेचना’ उनको पर्याय जस्तै बनेको पत्रिका हो । नकुल काजीको नेपाली भाषामाथिको दखल अर्थात् आधिपत्यको साक्षात् प्रमाण हो विवेचना । उनको एक बेला विवेचनामा छापिने चौथो पानाको स्तम्भ ‘ऐंसेलुको झाङमुनि चिसो पानी, परबाट आयो नरे थापा’ जनबोली, झर्रो शब्दावली र हास्यव्यङ्ग्य आदिको नमुना नै थियो, असाध्य लोकप्रिय थियो ।
वि.सं.२००२ साल मङ्सिरमा ताप्लेजुङको साङ्गादिनमा जन्मेका उनले दार्जिलिङबाट बिएस्सी पास गरेका हुन् । आफ्नो अध्ययन कालमा दार्जिलिङतिरका साहित्यकारहरू अगमसिंह गिरी, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राई आदिबाट प्रेरित भई वि.सं.२०१९ देखि नै आफ्ना सृजना प्रकाशन गर्न थालेका र अहिलेसम्म बिभिन्न विधाका १९ वटा कृति प्रकाशन गरिसकेका उनी अनुभवसिद्ध साहित्यकार हुन् । आख्यानका क्षेत्रमा उनका १ कथा सङ्ग्रह, ६ वटा उपन्यास प्रकाशन भइसकेको देखिन्छ । उनको पछिल्लो कृति ‘घरहरू भत्किरहेछन्’ (उपन्यास) हो । मैले उहाँका त्यत्रोविधि सृजना प्रकाशन भएर पनि आद्योपान्त पढ्न पाएको भनुँ, उहाँले नै प्रेमपूर्वक पठाइदिएर पढ्ने औसर प्राप्त भएको यही पछिल्लो उपन्यास हो ।
‘घरहरू भत्किरहेछन्’ पढी सकेपछि मलाई कस्तो लाग्यो त ! यही यस लेखको विषय हो ।
उपन्यास लेख्न निकै कठिन काम हो । मेरो बुबा ट्यामट्याममा भन्नुहुन्थ्यो– “बिना आँटले बोसो पाक्तैन” । यथार्थमा महाकाव्यहरू लेख्न, उपन्यास लेख्न या लामा नाटक लेख्न त्यस्तै आँट चाहिन्छ, लगनशीलता चाहिन्छ, लामो धैर्यता चाहिन्छ । साँच्चै भन्ने हो भने एउटा राम्रो उपन्यास लेखन एउटा तपस्या नै हो । ‘नहिं बन्ध्या विजानाति गुर्वो प्रसव वेदनाम्’ भने झैँ उपन्यास नलेखेकाले उपन्यास लेख्न के कस्तो कठिनाइ हुन्छ बोध गरेकै हुँदैन । यो कथा लेख्न जस्तो, कविता लेख्न जस्तो एक छिनको मुडले पार लाग्ने विषय होइन ।
उपन्यासको कथानक कहीँ कतै भाँचकुच नपारीकन, घटना र पात्रहरूको समन्वय, संयोजन मिलाउनु, पात्रअनुसारका भाषाले उपन्यासलाई जीवन्त पार्नु, पाठकका लागि पढौँ पढौँ पारेर उपन्यासलाई बगाउनु निकै जटिल विषय हो । एउटा सफल उपन्यास सफल आख्यानकारको प्रमाण नै हो ।
‘घरहरू भत्किरहेछन्’ बाट आख्यानकार नकुल काजी सफल हुनु भएको छ । घटनाका तारतुम्य, औपन्यासिकता, पात्रहरू, पात्रहरूको बोलीचाली, समाख्याताको भाषा, कथानकको बुनोट यो सबै अव्वल छन् । प्रथम श्रेणीमा पास हुने अङ्क यस उपन्यासले प्राप्त गर्दछ । लेखकको यो छैटौँ उपन्यास होे । यो आभ्यासिक होइन । अनुभवसिद्ध आख्यानकारको आख्यान हो भन्ने मर्यादा यस उपन्यासले बोकेको छ । मैले उपन्यास पढ्न थालेपछि अल्छी नलागीकन पढेर सिध्याएँ । यो अल्छी नलागीकन पढेर सिध्याउन पाउनु उपन्यासको एक स्तरको सफलता नै हो ।
अहिले हाम्रो देशका पचास लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा सिङ्गापुर, दुबई, कतार, दक्षिण कोरिया लगायत विश्वका अनेक देशमा गएका छन् । उनीहरूले भित्र्याएको रेमिट्यान्सबाट आज हाम्रो देशको अर्थतन्त्र चल्दैछ । अहिले त्यही रेमिट्यान्स ठप्प हुने हो भने हाम्रो अर्थतन्त्र ओदानको एउटा खुट्टो भाँचिएको जस्तो हुने स्थिति छ ।
एकातिर देशको अर्थतन्त्र रेमिट्यान्समा त्यसरी अवलम्बित हुँदैछ भने अर्कातिर युवा वर्ग यसरी विदेशिनुबाट हुने अनेकन विकारहरू मौलाइ रहेका छन् । त्यही विकारमध्ये हामीले ज्वलन्त रूपमा भोग्न थालेको सांस्कृतिक विचलन र पारिवारिक विघटनलाई यस उपन्यासले उजागर गर्न कोसिस गरेको छ ।
विशेष गरी यस उपन्यासले भर्खर बिहे गरेर बेहुली भित्र्याएर विदेशिएका बेहुला बेहुलीमा बितेको मानसिक द्वन्द्व र चारित्रिक स्खलनको कुरा नै यस उपन्यासको खास विषयवस्तु बनेको छ ।
विशेषतः झापाको दक्षिणी क्षेत्रमा यो उपन्यास घुमेको छ । अझ बनियानी, गौरीगञ्ज, ग्वालडुब्बा, पृथ्वीनगर, भद्रपुरमा उपन्यास रङ्गालिएको छ । उसै त समग्र झापा, पानीटेङ्की, सिलगढी, सिक्किम, दार्जिलिङ, ताप्लेजुङ, पाँचथर, काठमाडौं, दुबई, दोहा, कतार, सिङ्गापुर आदितिर बतासिएकै पनि छ ।
बनियानीकी पूर्णिमा ग्वालडुब्बाका भट्टराई परिवारको छोरो भरतसँग बिहे गरेर २० दिनपछि दुबईतिर बिदेशिएको र पछि दुबईबाटै इजरायल गएको र पैसा श्रीमतीका हातमा पठाउन थालेपछि पूर्णिमा ‘पुनम’मा परिणत भएर आफ्नो यौवनगत तृष्णा मेटाउन अन्य युवकतिर लागेकोबाट उपन्यासले हाँगा हाल्दै जान्छ । पुनम जस्तै अरु अरु जस्तै ताप्लेजुङ याम्फुदिनकी मनकुमारी फुङ्लिङका रोमबहादुरसँग बिहे भएकी अत्यन्त गाउँले पाराकी केटी रोमबहादुरले बिदेश गएर पठाएको पैसाले भद्रपुरमा आइपुगेर उत्तर आधुनिक ‘मिरा’मा फेरिएको कुरा उपन्यास पढ्दा स्वाभाविक तर आश्चर्य लाग्छ ।
यस उपन्यासले यसरी वैदेशिक रोजगारीका कारणले अब घरघरमा प्रलय प्रवेश गरेको, खलिकप्पुर घरहरूका जगमुनि भुइँचालो पसेको, बिथोलिएको देखाएको छ । अब कुनै घर सग्लो रहँदैनन्, कस्तै आरसीसी गरेका भए पनि घरहरू अब जोगिँदैनन् भन्ने देखाएको छ । ‘घर’ यस उपन्यासमा पारिवारिक प्रेमपूर्ण सङ्गठनको पर्याय हो । अब हाम्रो परम्परागत पारिवारिक पहिचान बदलिएको, पतिपत्नीको प्रेममा खड्गास्टले प्रवेश गरेको र परिवार बिघटन भएको देखाइएको छ ।
उपन्यास लेख्नु निबन्ध लेख्नु जस्तो होइन । निबन्ध लेख्न लेखकको निजी भाषाले पुग्छ तर उपन्यासमा जति पात्र छन् ती सबै पात्रका आ–आफ्ना भाषा हुन्छन् । जसरी यथार्थ जीवनमा बोलीबाटै व्यक्ति चिन्न सकिन्छ, त्यस्तै सफल उपन्यासमा त्यहाँका पात्रका बोलीले पात्र चिनिने हुन्छ ।
काजी साहबकी उपन्यासकी पात्र निर्मलाकी सासूले बुहारीलाई भनेको एउटा बोली हेरौँ– “को अनुसा ? त्यै कर्णेकी जोई ? किन आईरथी त्यो नखरमौली हाम्राँ … राम्रासँग सन्बन्ध राख् है ब्वारी, त्यस्ता पातरहरूसित होइन । लोग्ने विदेशमा कस्तो दुःख गर्दो हो स्वास्नी यता मुनपरी गरिहिन्छे । बिग्रेलिस् नि तँ पनि, अनेकका नाठासँग मामा र काका साइनो जोड्दै नारिने होलिस् ! …” (पेज–१५)
यस्तै अर्की एउटी उत्ताउली केटी रेशमको भनाइ– “उल्लाई कि मलाई ? कस्तो रैछ सुदर्शन त ! माक्को भँडुवा न भँडुवा रैछ … मेरो पनि याँ बच्चा खेल्दैछ ! कस्तो रैछ ! कस्तो रेल्ला पो गर्दो रैछ केटीहरुको जिन्दगीसँग … यी यो बैनी, उ त्यो दिदी … सप्पैको बूढाहरू विदेशमा छ कि अन्त के–के के–के गरेर … कस्तो भँडुवा रैछ छ्या !ऽ यसलाई त …” (पेज–१६५)
पात्रका भाषाको यो प्रस्तुति भाँडाको भात विचार्न एउटा सिता छामे जस्तै हो । त्यसैले यो उपन्यास उपन्यास हुन सफल भएको छ ।
जहाँसम्म उपन्यासले पाठकमा पार्ने प्रभावको कुरा छ, अथवा उपन्यासले प्रक्षेपण गर्ने सारको कुरा छ, त्यस वारे भने मेरो दृष्टिमा उपन्यास कमजोर छ । मलाई लाग्छ, उपन्यासकार नकुल काजी स्वयम् पनि वैदेशिक रोजगारीले हाम्रो सामाजिक संस्कारमा विकृति ओइरियो भनेर दुःखित हुनुहुन्छ र यस्तो नहोस् भन्ने नै चाहनुहुन्छ । त्यो कुरा उहाँको उपन्यासको नाम रखाइले पनि जनाउँछ र उपन्यासका १६ औँ अङ्कमा एउटा राष्ट्रिय दैनिकमा छापिएको सम्पादकीय टिप्पणीका वाक्यबाट तथा २२ औँ अङ्कमा पुनमले रश्मीलाई लेखेको चिठी बनाएर लेखेका वाक्यहरूबाट बुझिन्छ तर उपन्यासका पाठकले उपन्यासकारको चाहना बुझ्दैनन् । समाज त सुध्रनै नसक्ने गरी, सुधार्नै नसकिने गरी बिग्रिसक्यो भन्ने बुझ्छन् । जसको पति वा पत्नी विदेश गयो त्यसको पति पनि बिग्रियो विग्रियो र पत्नी पनि बिग्री बिग्री भन्ने लाहा छाप लाग्ने भयो । यथार्थमा त्यस्तै भएको त होइन नै ।
हाम्रो समाज त्यति पतित भइसकेको पनि छैन । उपन्यासले ती बहुसङ्ख्यक दिदीबहिनीको अतुलनीय संयम, धैर्यता र नैतिकवान रहेर पतिले पठाएको एक–एक रूपैयाँ थुकतेल गर्दै बचाएर निर्वाह गर्नेहरूको मर्म बुझेन । ती मार्मिक जीवन बाँचेका दाजुभाइ दिदीबहिनीउपर यस उपन्यासले न्याय गर्न सकेको छैन ।
उपन्यासले वैदेशिक रोजगारीका कारण आफ्नै मुलुकमा अलिक कम तलबमा काम गर्ने भावनाको हत्या भएको झलक दिएको छ तर त्यो छायामा परेको छ । अझ अन्तर्राष्ट्रिय क्षेत्रमा अब नेपालीको पहिचान सखाप भयो । अब कुनै नेपालीले नेपालबाहेक अन्य संसारको कुनै ठाउँमा पुग्दा ‘नेपाली’ भनेको एउटा ‘बनियारे’ अर्थात् पैसामा शारीरिक श्रम दिनेहरूको रूपमा, ‘भतुवा’को रूपमा चिनिन थाल्यो भन्ने कुरा भने देखाएन । अहिलेको सबभन्दा खतरनाक कुरा भने यो विकृत पहिचान हो । यस वारे यत्रो उपन्यास चुपचाप रह्यो । बरु ‘झा सर’ र शोभा, ज्ञानी, शर्मिला आदिका कुराले त वैदेशिक रोजगारीले मात्र होइन अरुनै बाटोबाट पनि हाम्रो समाज चेलीबेटी बेचबिखन जस्तो नीच अनैतिकताको पहिरोमा फँसेको देखाइएको छ । नैतिकता र अनैतिकताको कोणबाट उपन्यासलाई हेर्ने हो भने वैदेशिक रोजगारी या अन्य सामाजिक क्षेत्र हाम्रो समाज विविध कारणले नैतिकता स्खलनको ओरालो यात्रामा रहेको देखिन्छ ।
यसरी वैदेशिक रोजगारीले ल्याएको विकारमा केन्द्रित भएर लेखिएको यो उपन्यास केही आफ्ना पतिले पठाएको पैसाले उच्छृङ्खल भई विकृति ग्रस्त बनेका सानो सङ्ख्याका उत्ताउला चेलीको चित्रण गरेर उपन्यास एकाङ्गी र अयथार्थ जस्तो बनेको छ ।
रेमिट्यान्सले चलेको देश व्यापार घाटामा दिनानुदिन ओरालो खस्कँदो छ । राज्यका माहुतेहरू राष्ट्रको भविष्यप्रति लापर्वाह भएका छन् । यसप्रति औँला उठेको छैन उपन्यासका पात्रपात्राबाट । नकुलकाजी आफू यसैबाट बढी व्यथित हुनुहुन्छ भन्ने छनक पाइन्छ तर उपन्यासको बुनोटमा यो कुरा परेको छैन । यो उपन्यासको सीमा बनेको छ ।
जे होस् ! आजका युवाहरूका लागि यो उपन्यास एउटा उपन्यास नै भएर लेखिएको छ । यसमा युवतीका अङ्गहरुको वर्णन तथा धेरै जसो नदेखाउँदा हुने दृश्यहरु बढी देखाएर, लम्ब्याएर उपन्यासकार अलिक श्रृङ्गारिक उपन्यास लेख्न इच्छुक हुनुहुन्थ्यो जस्तो छनक पनि पाइन्छ ।
आदरणीय नकुल काजीबाट अबको कृति आउँदा राष्ट्र–राज्यको भविष्यप्रति दूरदृष्टि राखेर समृद्ध र गौरवशाली समाज बनाउने सोचका साथ लेखिएको कृति आउने विश्वास गर्दै यो छोटो लेखको बिट मार्छु । लोकतन्त्र पोष्टबाट