Logo
  माघ १५, २०७९ आईतबार

राजनीतिमा धर्मको प्रयोग



तारामणि सापकोटा
सामान्य रुपमा राजनीति भन्दा धर्म जेठो हो । राजनीति शब्दको प्रयोग हुनु भन्दा सयौं बर्ष अघि धर्म शब्दको प्रयोग भएको पाइन्छ । आधुनिक समाजलाई छाडेर त्यस अघिका सयौं बर्ष धर्मका नाममा राज्य संचालन भए । आजपनि मुस्लिम देशमा भर्मकै नामबाट शासन सत्ता संचालन हुँदै आएको छ । नेपालमा धर्मको नाममा शासन संचालन गर्ने परिपाटी अन्त्य भएको धेरै भएको छैन । धर्म, सम्प्रदाय र राजनीतिलाई एउटै कोटरीमा राखेर बुझ्ने कुराले समस्या भएको हो ।
नेपाललाई हिन्दू धर्म सापेक्ष साज्य बनाउनु पर्छ भन्ने ठूलै जमात छ । नेपाल धर्म निरपेक्ष राज्य भएको हो की, सम्प्रदाय निरपेक्ष राज्य भएको हो भन्नेमा बहस छ । जेलाई धर्मको अर्थमा बुझिंदै छ त्यो धर्म नभएर सम्प्रदा हो भन्ने मत सानो छ । हिन्दू, मुस्लिम, इसाई, बौद्ध,सीख लगायतलाई धर्म भन्ने की सम्प्रदाय भन्ने ? सम्प्रदाय र धर्म बीचको भेद केहो ? यस बिषयमा पर्याप्त बहस हुनु आवश्यक छ ।
सरल अर्थमा धर्म दुई शब्दले बनेको छ । धर र म । धरको अर्ध धारण गर्नु, पकडनु वा लिनु भन्ने हुन्छ । त्यस्तै म को अर्थ स्वयम्, अफै भन्ने बुझिन्छ । यसको समर्गता हुन्छ म के हुँ, को हुँ, कहाँबाट, मेरो मार्ग केहो, मैहले के गर्नु पर्छ, जीवन, जगत केहो भन्ने जस्ता सत्य कुरा वा वचन थाहा पाउने ज्ञाननै धर्म हो । धर्मको वास्तिविक मर्म वैज्ञानिक छ । गतिशील छ । पुरानो कुरा नछाड्नु, अवैज्ञानिक कुरालाई समाइ रहनु, जहाँ मानिसको शोषण र बिभेद भएपनि जकडिएर बस्नुलाई धर्म भनियो । पूर्वीय दर्शन र बिचार यहिँ चुकेको छ । हिन्दू, बौद्ध वा अरु कुनै सम्प्रदाय पनि गलत छैनन् । तिनको आआफ्नै बिशेषता र मर्म छन् । तर तिनलाई बुझ्ने र रुपान्तरण गर्ने सवालमा हामी स्थिर छौं । समस्या यहिँ हो । बुद्ध र महाबीरको जस्तो भौतिकवादी बिचारलाई हामीले आज अवैज्ञानिक मात्र होइन, स्थिर र धर्म बनायौं । यो भन्दा अनर्थ के हुन्छ ?
नेपाललाई हिन्दू सम्प्रदाय सापेक्ष राज्य बनाउन एउटा पक्षले माग गरिरहेका छन् । उनिहरुले परम्परा, संस्कृत र सभ्यता जोगाउन हिन्दू सापेक्ष राज्य हुनु पर्छ भन्ने तर्क गरेका छन् । हिजो राजा महाराज र शासक वर्गले धर्मको नाममा राज्य गरे । राणा काल र  पंचायतमा प्रत्यक्ष रुपमा धर्मका नाममा शासन संचालन भयो । २०४६ साल पछिको बहुदल कालमा पनि शासनमा धर्मको प्रभाव थियो । त्यसवेला अन्य सम्प्रदायको धर्म, संस्कृति,सभ्यता  र परम्परा जुन संरक्षण गर्न लायकका थिए । ति लोप बनाउन राज्यले भूमिका खेलेको थियो । तर, हिन्दू धर्म संस्कृति अपनाउने समुदाय र व्यक्तिलाई शोषणको आरोप लाग्ने गरेको छ । शासकले गरेको अपराधको भागिदार गाउँको एउटा ब्राम्हणले व्यहोर्नु परेको छ । यो न्याय संगत छैन ।  एउटाले अपराध गर्ने अर्काले दोष व्यहोर्नु पर्ने नैतिक रुपले पनि उचित हुँदैन । तर, आज फेरी केही राजनीतिक पंण्डित नेपाललाई हिन्दू राज्य हुनु पर्छ भन्ने वासी बिचार छर्दैछन् । राजनीति र धर्मलाई एउटै झोलामा मिसमास पारेर  आफ्नो दुनो सोझ्याउने प्रयत्न हुँदैछ ।
धर्म भनौं या सम्प्रदाय । राज्य यस कुराबाट अलग हुन नै उचित हुन्छ । धर्म व्यक्तिक मामला हो । कुन धर्म सम्प्रदायमा लाग्ने भन्ने व्यक्तिको छनौटको बिषय हो । यसलाई राज्य र राजनीतिसँग जोडनु हुँदैन । व्यक्तिगत स्वतन्त्रताको बिषयलाई राज्य र राजनीतिसँग जोडदा त्यसले कसैको दुनो त सोसझएला तर नागरिकको भलो गर्दैन । नेपाललाई हिन्दू राज्य बनाउन भारतीय जनता पार्टीका केही नेताले सल्लाह दिएको छन् । हिन्दू धर्मको उग्र वकालत गर्ने भारतीय जनता पार्टी भारतको सत्तामा गएको एक बर्ष हुन लागि सक्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई न त हिन्दू राज्य भन्न सकेका छन्, न त हिन्दूत्वको वकालत गर्न सकेका छन् । उनले हिन्दू धर्मलाई सत्तामा जाने भर्याङ मात्र बनाए । नेपालमा पनि केही पार्टी र व्यक्ति नेपाललाई हिन्दू राज्य बनाउन कसिएका छन् ।
इमान्दार हिन्दू सम्प्रदायले हिन्दू राज्यको अवगाल व्यहोर्नु भन्दा स्वतन्त्र बनाउन सक्नु पर्दछ । स्वतन्त्रतामा नै विचार राम्ररी फुल्न र फल्न सक्छ । हिन्दू धर्ममा भएका खरावी र गलत दृष्टीकोण बदलेर यसलाई सुन्दर बिचार र दर्शन बनाउन सक्नु पर्छ । नयाँ पुस्तालाई पंण्डित बनाउँदा, टिका, चन्दन, धोती र जनै धारण गर्दा मात्र हिन्दू हुने परम्परा बदल्न सक्नु पर्दछ । अनी मात्र हिन्दू धर्मको सत्यता र निष्ठा जोगिन सक्छ । धर्मले मानिसमा घ्रिणा र अपमान होइन प्रेम र सद्भाव व्यक्त गर्न सक्नु पर्दछ । हिन्दू धर्म जोगाउने कसैदे ठेक्का लिएर जोगिने होइन । यसलाई दिलबाट जनताले जोगाउनु सक्नु पर्दछ ।  
 

प्रतिक्रिया दिनुहोस्