Logo
  माघ १६, २०७९ सोमबार

गिरीजाको सहमतीय रोडम्याप धरापमा



तारामणि सापकोटा ।
आज चैत १९ गते ।
२०४६ सालको जनआन्दोलनमा जनता जागेको दिन । त्यसदिन राजा बीरेन्द्रले जनताका सामु झुक्न बाध्य हुनु परेको थियो । कांग्रेस र कम्युनिष्टको संयुक्त आह्वानमा जनआन्दोलन भएको थियो । राजाले पंचायतको अन्त्य गरी बहुललिय व्यवस्थाको घोषणा र राजबन्दी रिहाई गर्न बाध्य भएका थिए । चैत्र २६ गते बिजयउत्सव मनाउन जनता सडकमा आएका थिए । त्यस दिन टुँडिखेलमा जनसागर उर्लिएको थियो । जनसभालाई नेताहरुले सम्बोधन गर्ने क्रममा स्वर्गिय गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रमा कसैको हार नहुने बताए । कोइरालाले भने ‘प्रजातन्त्र मजदुर, किसान, बद्धिजिवी सबैको जित हो, ‘राजाको पनि जित हो, पंचको पनि जित हो ।’ जव कोइरालाको मुखबाट यस्तो वाणी निस्कियो तव जनमासले उनको हुटिङ गर्यो । स्टेजमा आक्रमण हुने अवस्था आएपछि कृष्णप्रसाद भट्टराईले मासलाई बस्न आग्रह गरे तर उनको प्रयास पनि असफल भयो । गणेशमानेसमेत आग्रह गरेपछि मास केहि शान्त भयो ।
आन्दोलनको राप र तापको समयमा कोइरालाको त्यो वचन अपाच्य भयो । तर, कोइरालाले आफ्नो त्यो भनाई कहिल्यै गल्ति भो भनेर फिर्ता लिएनन् । समयक्र बित्दै गयो । मानिसले प्रजातन्त्रको परिभाषा बुझ्दै गए । कोइरालाको त्यो भनाइमा बहस हुन थाल्यो । र, मानिस निश्कर्षमा पुगे ‘वास्तवमा प्रजातन्त्रमा कसैको हार हुँदैन, प्रजातन्त्रमा गणितको हिसाव हुँदैन, प्रजातन्त्रमा सबैको समान अधिकार हुन्छ, कानुनका नजरमा सबै समान हुन्छन ।’
कोइरालाको त्यो मान्यता र निश्कर्ष त्यसबेला अस्वीकृत भएपनि आज स्वीकृत भएको छ । उनको प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने मान्यता र आदर्शको अर्को रुप २०६२÷०६३ को जनआन्दोन र त्यसपछि देखिएको थियो । उनी एकोहोरो रटान लगाउँथे ‘सहमति, सहकार्य र एकता ।’ धेरैलाई यो नारा बकम्फुसे जस्तो लाग्थ्यो । कतिले यो भनाइलाई व्यङ्गको बिषय बनाए । कतिले हिसिटिउरीको बिषय बनाए । तर, कोइरालाले १२ बुँदेबाट सुरु गरेको सहमति, सहकार्य र एकताको नाराले अहिले सम्मको यात्रा तय गरेको हो ।
दश बर्षसम्म माओवादीले संचालन गरेको जनयुद्धलाई शान्ति प्रकृयामा ल्याउने, जनआन्दोलनलाई निश्कषमा पुर्याउने कार्य, संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, माओवादी सेनाको समायोजन सबै सहमति, सहकार्य र एकताका परिणाम हुन् । बिगतमा बिमतिका बीच यि चिजमा एकता कायम भएको थियो । तर, आज सहमति, सहकार्य र एकताको कुरा मानिसले पत्याउनै नसक्ने बिषय बनेको छ । सहमति हुन नसक्दा हिजोका उपलब्धि गुम्ने अवस्था छ ।
कोइरालाले प्रजातन्त्रमा कसैको हार हुँदैन भनेको मूल्य, मान्यता र त्यसमा लुकेको आदर्श आज हराउँदै गएको छ । कोइरालाको पार्टी सबै भन्दा ठूलो दल भई सरकारको नेतृत्व गरिरहेको छ । तर, प्रजातन्त्रमा कसैको हार हुँदैन होइन । सहयात्री दल पराई बन्दै गएका छन् । संविधानसभा जस्तो जनताका अधिकार संस्थागत गर्नु पर्ने थालो गणितिय खेलमैदानमा रुपान्तरण हुँदै गएको छ । संविधानसभालाई आज कसैको जित र कसैको हार हुने खेलमैदान बनाईदै छ ।
जित्नेले फराकिलो सोचाई बनाउनु प्रजातन्त्रको चरित्र हो । अल्पमत वा सानो संख्यामा हुनेको आवाज समेटने कुरा पहिलो प्रथमिकता हुनु पर्ने हो । तर, संविधानसभामा संख्यात्मक रुपमा हार भएका दलले प्रजातन्त्रको मान्यताबाट पनि हार्नु पर्ने अवस्था सृजना हुँदै छ । संविधानसभा कसैको हार र कसैको जित हुने थलो होइन । यसमा सबैको जित हुन सक्यो भने मात्र संविधानसभाबाट बन्ने संविधान दिगो हुन सक्दछ । गणतन्त्र र धर्मनिरपेक्षता सर्वसम्मत गर्न सक्ने सविधानसभाले राज्यको सिमाङ्न र झिना मसिना कुरामा सहमति गर्न नसक्नुमा संविधनसभाको होइन, राजनीतिक दलको असफलता हो ।
कांग्रेसमा बिपीपछि अहिले गिरीजाप्रसादको योगदानको चर्चा हुने गर्दछ । जीवनको उत्तरार्धमा गिरीजाप्रसादले गरेका राजनीतिक अडान र निर्णयले उनलाई महान बनाएको हो । उनले निकै कठिन परिस्थतिमा गरेका साहशिक निर्णले उनका बिगतका सबै कमजोरीलाई भूलाई दिएको हो ।
कांग्रेसमा उनको जस्तो निर्णय क्षमता भएका नेताको खडेरी परेको छ । कांग्रेस एमालेको भरमा एमाले कांग्रेसको भरमा अडिएको छ । एमालेको कार्यशैलीमा कांग्रेस अडिएको छ भने कांग्रेसको बिचारमा एमाले लतारिएको छ । कांग्रेस एमाले एकअर्काका पुरक बनेका छन् । संविधानसभाका सबैभन्दा ठूला दल मिलेर साना दललाई पेलेर कस्तो संविधान बन्ला  ? प्रतिपक्षको कुरा सुन्नु पर्ने शक्ति पेल्नमा उद्धत छन् । अन्य देशको संसदीय प्रजातन्त्रमा प्रतिपक्षलाई पकाइन्छ । तर, हाम्रोमा प्रतिपक्षलाई सकिन्छ भने पेलेर लाने सोंच बनाइन्छ । यो संविधान बनाउने काइदा होइन । सहमति, सहकार्य र एकाताको कुरा र मान्यता बिपरित छ ।
 गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा माओवादीले कयौं पटक युद्धमा फर्कने चेतावनी दिंदापनि उनले सहमति गराएरै छाडे । आफ्नो सहमतिको मान्यतामा कोइराला पछि हटेनन् ।
माओवादी ठूलो दल भएका वेला कांग्रेस, एमालेले दश प्रदेश बनाउने सहमति गरेका थिए । तर, त्यसबेता माओवादी लगायतका मधेसी दलले अस्वीकार गर्दा त्यो लागु हुन सकेन । त्यो सहमति बिवादमुक्त नभएपछि राजनीतिक निकास थियो । आज माओवादी सहितका दलले उठाएको माग त्यो भन्दा धेरै कमजोर छ । यद्धपी कांग्रेस एमाले स्वीकार गर्न तयार छैनन् । यसले कोइरालाले भनेको सहमति, सहकार्य र एकताको मान्यता धरापमा परेको छ । त्यसालाई धरापमा पार्ने काम स्वयम् कांग्रेस आफैले गरेको छ । यसमा कांग्रेस नै बढी सजक हुनु पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्