Logo
  माघ २२, २०७९ आईतबार

स्वागत नयाँ संविधानलाई!



प्रकाश ज्वाला
                        २०७२, असोज ३, नेपालको इतिहासमा सुनौला अक्षरले अंकित ऐतिहासिक दिन । नेपालको नयाँ संविधान घोषणा भई जारी भएको दिन । असोज ३ नेपालको राष्ट्रिय पर्व हो संविधान दिवस । नेपाली जनताका क्रान्ति, आन्दोलन र बलिदानको दस्तावेज संविधान घोषणाको यो अविष्मरणीय क्षण । सिङ्गो राष्ट्रले राष्ट्रिय उत्सव मनाइरहेको दिन ।
विगतका राजनीतिक, वर्गीय, सामुदायिक आन्दोलन, सहादत र २०६२÷०६३ को जनक्रान्तिका उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाउने संविधान प्राप्त भएको यो गौरवशाली अवसर हो । आज नेपाली जनताको झन्डै ७ दशकदेखिको सपना पूरा भएको छ । र ७ वर्षदेखिको कष्टसाध्य प्रयत्न सफल भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् आफैले बनाएको नयाँ संविधान पाएका छन् । र देशव्यापी रूपमा दीपावलीसहित नयाँ संविधानको स्वागत गरेका छन् । असोज ३ गते अपराह्न संविधानसभामा आयोजित एक विशेष राष्ट्रिय समारोहबीच सभासद्हरूद्वारा हस्ताक्षरित र संविधानसभा अध्यक्षद्वारा प्रमाणीकरण गरिएको नेपालको संविधान राष्ट्रपतिबाट राष्ट्रका नाममा जारी गरिएको त्यो पल साँच्चिकै नेपालीको लागि निकै सुखद र गौरवको घडी थियो । यतिबेला धेरै जनाले एसएमएस र फोनमार्फत् हामीलाई बधाई दिइरहेका छन् । निर्वाचनमा विजयी भएको बेला भन्दा जनताबाट धेरै–धेरै बधाईको ओइरो लागेको छ । सभासद्हरूका लागि त यो ज्यादै गर्वको समय थियो । उनीहरूमा त्यतिबेला खुसियाली छाएको थियो । प्रत्यक्षदर्शीमात्र होइन, प्रत्यक्षकर्मी भएको नाताले यो दिन स्वयम् मेरा लागि पनि जीवनमा सबैभन्दा खुसीको दिन, सबैभन्दा गौरवको दिन ।
संविधान पारित हुँदाहुँदै र पारित भइसकेपछिका कसरतका झाँकी पनि हेर्न लायक देखिए । संविधान पारित भइसकेपछिको भारतीय दूतको आकस्मिक दौडाहा अस्वाभाविक थियो । उनले नेपाल आएर संविधान जारी गर्ने मिति सार्न दिएको दबाव अशोभनीय देखियो । यता नेपाली दूत जसरी पनि संविधान रोक्ने ‘मिसन’ मा कम्मर कसेर अन्तिम दमसम्म नै लागे । कतिपय सञ्चारमाध्यमले संविधान निर्माणको प्रक्रिया स्थगित गराउनका लागि सकेसम्मको जोडबल लगाए । यसरी संविधान आउन नदिनका लागि पर्दाभित्र र बाहिर अनेकौँ खेल भए । त्यस्ता अनेकौँ षड्यन्त्र पराजित गरेर ‘काँडाबीच फूलेको गुलाफ’ जस्तै नेपालको संविधान जारी भएको छ । भदौ २५ गते शीर्ष नेताले संविधानसभामा सम्बोधन गर्ने र संविधानका दफामाथि छलफल टुंग्याएर प्रक्रिया अघि बढाउने कार्यक्रम थियो । त्यसैअनुसार सभासद्हरू हर्षित मुद्रामा संविधानसभामा उपस्थित थिए । यता सभासद्हरू अत्यासपूर्वक बैठकको पर्खाइमा थिए । उता बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसिरहेको थियो । एकाएक बालुवाटारबाट संविधानसभाको प्रक्रिया दुई दिन स्थगित गर्ने सन्देश प्रवाहित भयो । संविधानसभामा सन्नाटा छायो, सभासद्हरूका अनुहारमा निराशा र आक्रोश देखियो । त्यस्तो बेलामा त कहिलेकाहीँ कस्तोसम्म अनुभूति हुन्थ्यो भने, के नेपाल अझै राष्ट्र बन्न सकेको छैन ? के हामी नेपाली स्वतन्त्र राष्ट्रका नागरिक होइनौँ ? सबै निर्णय बाहिरबाट नै लादिने हो भने हाम्रो अस्तित्व कहाँ छ ? यो नेपाल देश हो कि यो कसैको प्रदेश वा प्रशासनिक इकाईमात्र हो ? अब दुई दिनपछि पनि प्रक्रिया स्थगित गरिएमा हामी सहनेवाला छैनौँ, हामी ठूलो दबाव दिएर भए पनि संविधान ल्याएरै छाड्ने छौँ भन्ने संकल्पसहित हामी संविधानसभाबाट बाहिरिएका थियौँ ।
माघ ८ को समयसीमा नजिकिँदै जाँदा संविधानका अन्तर्वस्तुमा सहमति नहुने र संविधान निर्माण प्रक्रिया अघि नबढ्ने अवस्था देखिएपछि हामी नै हौँ ‘संविधान निर्माण दबाव अभियान’ सञ्चालन गर्ने सभासद्हरू । हाम्रो पहलमा सभाध्यक्ष र दलका नेतालाई संविधान निर्माणको प्रक्रिया अघि बढाउन चर्को दबाव दिने काम भयो । दुइतिहाइभन्दा बढी सभासद्को हस्ताक्षर अध्यक्षलाई बुझाउनेदेखि संविधानसभाभित्र नै आन्दोलन गर्नुपरेको थियो । हामी मानसिक रूपमा त्यसरी नै अर्को दबाव आन्दोलन चलाउने निष्कर्षमा पुगिसकेका थियौँ ।  संविधानसभाबाट बाहिरिएका दलसँग वार्ताका लागि अन्तिम अपिल गरियो । त्यतिबेला पनि वार्ता र सहमति नभएपछि परिस्थितिले कोल्टे फेर्यो । भदौ २७ गतेदेखि संविधान निर्माणको अन्तिम प्रक्रिया अघि बढ्यो । शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको छलफल समाप्त भयो । संविधानका धारा १, २ र ३ पारित भएपछि संविधान निर्माणले ठोस आकार लियो । त्यसपछि भदौ ३० गते तीजको शुभसाइतमा संविधानका सम्पूर्ण धारासहित नेपालको संविधान दुइतिहाइभन्दा भारी मतले पारित भयो । पछिल्लो समय शीर्ष नेताबीच जुनसुकै परिस्थितिमा संविधान ल्याउने प्रतिबद्धताले आजको अवस्था निर्माण भयो । संविधान ल्याउनका लागि नेताहरूको ‘केमेस्ट्री’ पनि मिल्यो । ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उक्तिलाई राम्रैसँग महसुस गरेर शीघ्र संविधान ल्याउने अडानमा उभिए नेताहरू । विदेशीको दबावबीच नेपालीले आफै संविधान बनाउन सक्छन् । आफ्नो भाग्य र भविष्यको लक्ष्य र गन्तव्यको निर्धारण आफै गर्न सक्छन् । यसका लागि नेपालका राजनीतिक दल, नेता र नेपाली जनता एकताबद्ध छन् भन्ने कुरा सटिक रूपमा प्रमाणित भएको छ ।
नेपाल यतिबेला धेरैतिरबाट घेराबन्दीमा छ । संविधान बन्न नदिने, अस्थिरताको दलदलमा धकेलिराख्ने अनि संकटको चक्रव्यूहमा फसाउने र असफल राष्ट्र बनाउने षड्यन्त्र पनि थिए । महाभारत कथाका पात्र अभिमन्यू चक्रव्यूहमा परेर वीरगति प्राप्त गरेको अवस्थामा देश पुग्ने कि त्यो चक्रव्यूहबाट सकुशल निस्केर अघि बढ्न सक्ने दोसाँधमा थियो राष्ट «। आज त्यो चक्रव्यूहबाट राष्ट्र निस्कन सफल भएको छ । अझै पनि त्यस्ता षड्यन्त्रका रचना गरिनेहरु छन् । त्यसैले राजनीतिक दलहरू सुझबुझसाथ एकतबद्ध भएर अघि बढ्नुमा नै देश र जनताको हित छ । संविधानको देशवासीले हार्दिक स्वागत र समर्थन गरे । अन्तर्राष्ट्रिय समुदायबाट पनि स्वागत गरियो । इतिहासको एउटा ‘अध्याय’ सकियो । अब संविधान कार्यान्वयनको अर्को यात्रा अघि बढ्नेछ । संविधानप्रति आमजनताको समर्थन रहे पनि खासगरी प्रक्रियाबाट बाहिरिएका मधेस केन्द्रित दलहरूले यसको विरोध गरेका छन् । संविधान आएको कुरामा अरूचि राख्ने शक्तिहरू पनि छन् । सिमाङ्कनका केही झमेला सुल्भ्किएका छैनन् । यी सवाल केलाउँदा संविधान कार्यान्वयनमा केही चुनौती अवश्य देखिन्छन् । राजनीतिक दलहरूको अबको कार्यभार भनेको सहमतिको सरकार निर्माण गर्दै संयुक्त रूपमा संविधान कार्यान्वयनमा अघि बढ्ने नै हो । आगामी दिनमा संविधान ल्याउँदाको एकता दीगो बन्नुपर्छ ।  आजको खुसियाली भविष्यसम्म कायम रहनुपर्छ । आज असन्तुष्ट दल र समुदायका खुसी पनि यसमा मिसिनुपर्छ । संविधानले हामीलाई तोड्ने होइन, संविधानरूपी डोरीले सबै नेपालीलाई जोड्दै जानेछ । यतिबेला केही मधेस केन्द्रित दलहरू संविधानसभाको घेरा बाहिर छन् । उनीहरूका जायज मागलाई तत्काल सम्बोधन गर्ने गरी निर्णायक वार्तामा बस्नुपर्छ । संविधान पारित गर्दागर्दै पनि समानुपातिक समावेशीको मुद्दा र एक जिल्लामा न्यूनतम एक क्षेत्र रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सहमति भएको छ । सिमाङ्कन, विशेषाधिकार, विशेष संरक्षित क्षेत्रलगायतका विषयको समाधान अधिकार सम्पन्न संघीय आयोगले गर्ने व्यवस्था संविधानमै गरिएको छ । मधेसका जनता र नेताहरूबीच पनि ‘ग्याप’ छ, मधेसका जनता हिंसा, द्वन्द्व चाहँदैनन् । त्यहाँका दलित, चमार, भूमिहीन, महिला, मुस्लिम अधिकार चाहन्छन् । मधेसी जनता देशभक्त छन् । उनीहरू मधेस, पहाड, हिमाल मिलेर बसेको देख्न चाहन्छन् । नेपाल विविधतामा एकतासहितको विभिन्न फूलको साझा फूलबारी हो । संविधान निर्माणमा सबै दल समेटिएको भए सुनमा सुगन्ध हुने थियो । संविधान ढुंगामा लेखेको अक्षर जस्तो होइन । समयको माग र जनताको आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ । अब पनि फोरम लोकतान्त्रिकलगायतका एजेन्डाहरू समेट्नका लागि रूपान्तरित संसद्ले संविधान संशोधन गरेर सम्बोधन गर्न सकिन्छ । संविधानमा समेटिन नसकेका महिला, दलित, मधेसी, थारू, जनजाति, मुस्लिमलगायतका वर्ग–समुदायका जायज सवाल समेट्दै यो संविधानलाई अझ हराभरा बनाउँदै जानुपर्छ । यसपटक सभासद्हरूको निधारमा कलंकको टीका लागेन । संविधान नल्याएको अपजस बोक्नुपरेन । संविधान निर्माणका लागि जनताद्वारा पठाइएका सभासद् रित्तो हात, अनुहार अँध्यारो पारेर फर्कन परेन । शीर ठाडो पारेर, गर्वसाथ जनताबीच जाने अवसर पाए । यो संविधानसभा र सभासद्हरू अग्नि परीक्षामा उत्तीर्ण भएका छन् । उनीहरूले आफ्नो ‘मिसन’ पूरा गरेका छन् । संविधान निर्माण गर्ने लक्ष्यभेदनसहित आफ्नो गन्तव्यमा पुग्न सफल भएका छन् । दशकौँदेखिको नेपाली जनताको अभिलाषा र सपना अनि लामो तपस्या र प्रतीक्षा आज सार्थक भएको छ । सबैको साझा लगानीबाट ‘हाम्रो र राम्रो’ संविधान जन्मिएको छ । नयाँ संविधानले राष्ट्रिय एकता बलियो बनाउने छ । सामाजिक सद्भाव बढाउने छ र राष्ट्रको विकास तथा समृद्धिको लागि ढोका खोल्नेछ । अब हामी आर्थिक र सामाजिक रूपान्तरणको मैदानमा प्रवेश गरेका छौँ । नयाँ संविधान समृद्धिको कोशेढुंगा बन्नेछ ।
जनताको पहिचान, अधिकार, अपनत्व र स्वामित्वसहितको संविधान जनताको हातमा समर्पित छ । यो शताब्दीको सबैभन्दा उच्च उपलब्धिको रूपमा हामीले संविधान पाएका छौँ । क्रान्तिका युगान्तकारी उपलब्धिहरूको एउटै थुँगाको रूपमा आएको ‘जनताको कोसेली’ जनपक्षीय नयाँ संविधानलाई स्वागत छ । विकास, निकास र समृद्धिको राजमार्ग खोल्ने संविधानलाई स्वागत छ । संविधान कार्यान्वयनको लागि शुभकामना छ ।
 

प्रतिक्रिया दिनुहोस्