Logo

मजदुर दिवसको सार्थकता



विमल लामिछाने
आम श्रमिक मजदुरहरुकै बुई चढेर कयौ नेता भए, मन्त्री भए, प्रधानमन्त्री भए । तर मजदुर आन्दोलन जहाँको तहीँ छ । मजदुरहले आजपनि मुक्ति आन्दोलनको अपूर्ण गीत गाउनुपरिरहेछ । यो दुःखको कुरा हो ।
 विडम्वना, विश्वका मजदुरहरु एक हौ भनी सबै श्रमजिवीहरुले मई महिनालाई महत्वपूर्ण पर्वका रुपमा मनाउन थालेको आज एक सय छब्बिस वर्ष पूरा भइसकेको छ । यो समयावधिमा विश्वमा धेरै मजदुर आन्दोलनहरु भए । मजदुरको हकअधिकारका लागि मजदुरहरुले नै रगत र पसिना बगाउँदै अधिकारको लडाइँ लड्नु प¥यो । अहिले पनि मजदुरहरुको आन्दोलन जारी छ । अधिकारको यस लडाइँमा धेरै मजदुरहरुले ज्यान गुमाए । धेरै अंगभंग भए भने हजारौले आफ्नो रोजी रोटी गुमाए । अधिकारको यस लडाइँले मजदुर वर्गमा पारेको मानसिक पीडाको गणना त सम्भव नै छैन । न मुल्यांकन नै भएको छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो ।
उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल माक्र्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार भएको थियो । यसरी मे डे भनेर यो दिनलाई परिभाषित गरिएको यस दिनलाई सार्थक बनाउनका लागी इतिहासमा गणना भएको शुरुवाती बलिदानी गर्ने भनेर चिनिएका अमेरिकाको शिकागो शहरका मजदुर स्यामुअल अल्र्वट, लुईस, अगस्त, माईकल, जर्ज र एडल्फ,लाई मानिएको छ । तिनै मजदुर शहिदहरुको को अनुसरण र तिनको बलिदानीको सम्झनामा बिश्वभरिका मजदुरहरुले काम अनुसारको उचित दाम, मनोरञ्जन र आरामको लागी विद्रोहको आवाज उठाएर आजका दिन सम्म संघर्ष गरिरहेको इतिहास छ । आजपनि बिश्वभरि कुनै न कुनै रुपमा मजदुरहरुको संघर्ष जारी छ ।
उक्त घटनामा मजदुरहरु सहित शिकागो शहरका प्रहरी अधिकारीहरु समेत मारिएको घटनालाई स्मरण गरिंदै आएको छ । यिनै घटनाहरु पश्चात यो दिनलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको दिनका रूपमा मजदुरहरुले बिबिध कार्यक्रम गर्दै मनाउने चलन बसेको छ । नेपालमा सन् १९६३ देखि मात्रै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । तर सरकारी तहबाट भने सन् २००७ बाट मात्रै मजदुर दिवसलाई आधिकारिक दिनका रुपमा स्विकार गरिएको र उक्त दिन सर्वजनिक विदा दिन थालियो । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वका अन्य ८० राष्ट्रमा पनि सार्वजनिक विदा दिंइदै आएको छ । विश्वमा श्रमिकहरुलाई छुट्टीको अवधारणा सन् १८५६ मा अस्ट्रेलियाबाट शुरु भएको थियो । अधिकांश देशहरु मे १ लाई मजदुर दिवसका नामले मनाउँछन् । मजदुर दिवसलाई श्रमिक दिवसका नामले समेत मनाउने गरिन्छ ।
नेपालको सन्दर्भमा महत्वपुर्ण राजनीतिक आन्दोलनको शुरुवात मजदुर तहबाट शुरु भएको इतिहास छ । वि.सं. २००३ सालमा मोरङको विराटनगर जुट मिलका मजदूरहरुकै आन्दोलनबाट नेपालमा प्रजातान्त्रिक आन्दोलनको उद्घोष भएको थियो । यो ऐतिहासिक तथ्यसँग मजदुरहरु पनि जोडिएका कारण नेपालको मजदुर आन्दोलनले अझ फड्को मारेको छ । आजपनि मोरङ, सुनसरी, झापा, विरगञ्ज, काठमाण्डौं लगायतका जिल्लाहरुमा विशेष गरेर मजदुर दिवसलाई भब्यताका साथ मनाउने गरेका छन् ।

मजदुरी गरेर आफुमा आश्रित हरुको र आफ्नो जिबिका चलाउने जति सबै मजदुर हुन । नेपालको हकमा अन्र्तराष्ट्रिय परिभाषा भित्र र हिजो मईदिवस मनाउन शुरु गर्दाको अवस्था हेर्नेहो भने अहिले त्यस्ता अवस्थामा रहेका मजदुर लगभग कुल मजदुरको १५ प्रतिशत त्यही १२६ बर्ष पहिलाको अवस्थामा छन् , जसलाई जस्तो सुकै पिडाभएपनि काम गर्नुपर्ने बाध्यता छ । अझैपनि राज्यको निति मजदुर मैत्रि नभएका कारण हामीले मनाउने मजदुर दिवस सन्देहको घेरामा छ ।
 हाम्रो जस्तो मुलुकमा यसको समाधानका लागी सबै भन्दा पहिला सबै श्रमजिवीहरुको एउटा साझा कार्यक्रम र त्यसको निगरानी आफैबाट शुरु भएर जानु पर्ने हो तर यहाँ भएका मजदुर संगठनहरु जसले मईदिवसको परम्परालाई अहिले धानी रहेका छन तिनको बिचमा पनि व्यापक खाडल छ त्यहाँको बिभेदले एउटा डरलाग्दो रुप धारण गरि सकेको छ । कतिपय मजदुरका नाममा खोलिएका विभिन्न संगठनका नेतृत्वहरु नै मालिकसँग मिलेर मजदुरलाई नै शोषण गर्ने गरेको पाइन्छ । मजदुरलाई आन्दोलनमा उतार्ने र मालिकसँग दलाली गर्ने अनि पैसा पाएपछि यो या त्यो नाममा आन्दोलन स्थगित गर्ने जस्ता क्रियाकलापले गर्दा मजदुरहरुको आन्दोलन कहिल्यै सफल हुन नसकेको तितो यथार्थ भोग्नु परिरहेको छ । मजदुर भित्र प्रवेश गरि मजदुरहरुलाई बिभक्तिकरण गरिरहेका अन्र्तराष्ट्रिय संगठन र तिनका नेपालका प्रतिनिधिहरु यसमा व्यापक लागेका छन जसको शिकार नेपाली मजदुरहरु दिन प्रतिदिन हुदै गईरहेका छन ।
यद्यपी दिनभरि भारी बोक्ने, बालुवा चाल्ने वा खानीमा काम गर्ने मजदुरको भन्दा बढी जोखिम नेपालमा बहुसंख्यक पत्रकारहरुको छ । सञ्चारमाध्यममा कार्यरत मजदुर र मालिक बिचको अन्तरबिरोधपनि दिनानुदिन आकासिँदै गएको छ । मालिकले मजदुरलाई तलव नदिने तोकिएको समयभन्दा बढी काम लगाउने जस्ता समस्या कतिपय मिडिया हाउसहरुमा समेत यो अवस्था कायमै छ । जसलाई सहयोग गर्ने र तिनको भावना बुझेर कार्यक्रम बनाउने निकाय छैन ।
अहिले गम्भिर रुपमा बिकाश भईरहेको यो मजदुर भित्रको बर्ग बिभेदको अन्त्य गरिनु मईदिवस मनाउनेहरुको पहिलो कार्यभार हुन जान्छ । यही नै मई दिवस मनाउनुको सार्थकता हो । [email protected]

 

 

प्रतिक्रिया दिनुहोस्