Logo
  माघ १६, २०७९ सोमबार

अन्ततः मधेश आन्दोलनको विश्रामविन्दु के रहेछ त ?



कुनै दुर्गम गाउँको धनाढ्य–भूमिपति सामन्तको एकमात्र छोरो– एकमात्र सन्तान भएकाले त्यसलाई झन्नै परम्परावादी भारतेली संस्कार र सो शैलीमा खुबै पुल्पुल्याएर हुर्काएको थियो । छोरो सानैदेखि अचाडू, मैमत्त र घमण्डी हुनु स्वाभाविक हुनु किन बन्यो भने त्यसको मावलीले समेत त्यसलाई त्यसकै स्वभावमा छिप्याउन चाहन्थे । छोराको आनीबानीबाट अनेक झन्झट झेलिरहेको बाबुले त्यसलाई कजाउन आवश्यक ठानी अर्को गाउँको सम्भ्रान्त, सभ्य र शिक्षित घर परिवारकी शिक्षित कन्या मागेर बिहे गरिदियो । तर, दुलही भिœयाएदेखि नै छोरो (दुलाहा) चाहिँ आफ्नो स्वभाव बमोजिम प्रस्तुत हुन थाल्यो । हरेक काम ऊ हुकुमी शैलीमा अह«ाउँथ्यो र काम अह«ाइसकेपछि चेतावनीस्वरूप भन्थ्यो– ‘होइन भने…’ । अर्थात्, ‘मेरो टाउको दुख्या छ, तेल–मालिस गर । होइन भने….!’, ‘मेरो जुत्ता ल्याउ । होइन भने ….!’, ‘तिमी आफै बजार गएर मैले खाने फलफूल लिएर आऊ । होइन भने….!’ इत्यादि ।

बिहे भएको तेस्रो दिन गरिने परम्परागत अनुष्ठानको चटारोमा दुलहीले नै व्यस्त हुनु थियो र ऊ थाकिसकेकी थिई । लगभग ८ बजेतिर ओछ्यानबाट निस्कदै दुलहाले उही हुकुमी बोलीमा भन्यो– ‘खोइ तातोपानी बाथरूममा पुर्यायौ ? म तातोपानीले मात्र नुहाउने गर्छु भन्ने था’ थिएन ? छिट्टो एक बाल्टी तातोपानी पुर्याइहाल, मलाई नुहाउन ढिलो हुन्छ । होइन भने…!’ अतिचार भइराखेकी दुलहीले पहिलो पटक ओठे प्रश्न गरी– ‘होइन भने के गर्नुहुन्छ हँ ?’ एक्कासी अनुहार पन्यालो पार्दै डराएजस्तो गरी घुटुक्क थुक निलेर दुलहाले भन्यो– ‘होइन भने के गर्नु र ! चिसै पानीले नुहाइहाल्छु नि ।’…

मैले उपर्युक्त ठट्टा–कथा यस अघिको कुनै राजनीतिक टिप्पणीमा पनि लेखेका थिएँ । तर, त्यो कुन राजनीतिक सन्दर्भ थियो भन्ने यहाँ सम्झिन सकिन । मधेश आन्दोलनका क्रममा नेपालको भारतेली सीमाले छोएको मधेश भूभागका जमिन्दार नेताहरूले सत्ता–सुन्दरी (सरकार !)–सँग माथिको कथामा दुलहाले दुलहीलाई दम्भसाथ धम्काए जस्तै धम्काएका हरेक प्रकरण उपर्युक्त ठट्टा–कथासँग मिल्ने खालका थिए, छन् । ‘हामीले मागेको देऊ, नत्र यसो गर्छौं – उसो गर्छौं, यसो हुन्छ–उसो हुन्छ’ भन्ने आशयका धम्कीका अनेक स्वर नेपाली मधेशका फाँटिला फाँटदेखि, नेपालभित्र सिंहदरबारसम्मै र लठ्ठापारि बिहार–दिल्लीसम्म घन्किएका थिए । शायद कसैले ‘होइन भने के–के गर्छौ ?’ भन्ने आशयको ओठे प्रश्न कतैबाट फर्काएछ क्यार र मधिशे जमिन्दार नेताहरू अँध्यारो कालोमुख लाएर – ‘हाम्रो माग पूरा भएन भने फेरि त के गर्नु र ! चूप्प लागेर दुला पस्छौं नि !’ भन्या झैं हुन पुगेका हुन् कि ? म मेरै कुरो ठीक भन्दिन, परन्तु ‘हामी जे सोच्तछौं, त्यो हाम्रा लागि ठीक ठहर्छ, तर सोच्तै होशियारी बर्तिनु पर्दछ’ (What we think is right for us, but we must be careful in thinking) भन्ने विश्वमान्य आप्तवचन अनुसार पहिला मधेशका ‘सामाजिक जमिन्दार’ हैसियतका र त्यही हैसियत नै ‘मधेश–राजनीतिको निर्विकल्प राजनीतिक योग्यता’ भने झैं चलन–प्रचलन अनुसार विखण्डन लक्षित क्षेत्रीय राजनीतिमा अवतरित मधेशमार्गी नेताहरू ‘आग्रहमा होशियार’ हुनुपथ्र्यो अनि मात्र म बबुरो लेखक होशियार हुन विवश हुन्थें ।

भारत (बिहार)–को नेपाल–भारत सीमावर्ती कुनौली गाउँतिर बग्ने नेपाली खोलो (खाँडो खोला)–लाई दशगजा क्षेत्रमै भारतेलीले बाँध बाँधेर नेपालतिरै फर्काउने डेउढी हरकतका साथ दादागिरी देखाउँदा नेपालको तिलाठी गाउँ चुर्लुम्म डुब्यो । तिलाठी गाउँ रहेको सप्तरी जिल्ला मधेश आन्दोलनमा मात्र सर्वाधिक सक्रिय थिएन, मधेश–मुद्दाका हरेक प्रकरणमा चर्चित हुँदै आएको जगजाहेर छ । तर, तिलाठीबासी ‘जमिन्दार–नेता–भरोसे’ मधिशे जनताको यो चरम विपत्तिको अवस्थालाई भारतेली प्रशासन र सुरक्षा निकायहरूले त रमाइलो रमिता बनाए–बनाए, स्वयम् नेपाली स्वघोषित मधेशमार्गी मधिशे नेताका बिल्लावालहरूले समेत थाहै नपाए झैं गरे ! तिलाठीबासी मधिशे आबाल–वृद्ध–बनिताका रोदन–क्रन्दन ती मधिशे नेताहरूले एक कानले सुने र अर्को कानले उडाए । तिलाठीबासी मधिशेहरूलाई त्यत्रो संकटले गाँजेको बेला मधिशै नेताहरूमध्ये एउटा पनि ‘माईका लाल’–ले चूँसम्म गरेन ।

तिलाठीवासीमा कोलाहल मच्चिरहेका बेला ‘जमिन्दार’, ‘मालिक’ आदिले साविकदेखि सम्बोधित कथित मधिशे अगुवा (नेता ?)–हरू शायद राज्यसत्तामा वरण पूर्वको अभिसारबिन्दुरूपी सिंहदरबार परिक्रमा गर्दै सत्ता–गठबन्धनका पक्ष–प्रमुख समक्ष ‘ओम् जय जगदीश हरे… प्रभु तुम सबके स्वामी’ भजिरहेका थिए । अतः यो अवस्थाले अन्ततः मधेश आन्दोलन उनीहरूले केका लागि नारिरहेका रहेछन् र उनीहरूका के–के अभीष्ट पूरा गरिदिन मधेशवासी दुखिया जनता अज्ञातै होमिएका रहेछन् भन्ने छर्लङ्गै पारेको छैन त ? सिङ्गो मधेश आन्दोलनको सेरोफेरो अन्तर्गत तिलाठी–घटना सामान्य मानेर हियाइएको हुन सक्तछ । तर, यसबाट मधिशे नेताहरूको नियत (intention ls cupidity) त सफासफी देखिएन र ? नियत बुझ्न ठूलो घटना आवश्यक हुँदैन ।
उहिले २००७ सालमा मधेश र मधिशेका लागि विद्रोह गरेको भन्दै र ‘गोर्खा के राजा गोर्खा में शासन करेंगे, हम मधेशी मधेश में’ भन्ने नारा र पर्चेबाजी समेत गरेर नेपाली कांग्रेसबाट मधेशवासीलाई भड्काई बेदानन्द झाले तराई कांग्रेस पार्टी खडा गरेको कथा छ । २०१५ सालको प्रथम आमनिर्वाचनमा त्यो तराई कांग्रेस पार्टी माथि भनिएको ठट्टा–कथामा जस्तै ‘होइन भने के गर्नु र, चिसै पानीले नुहाइहाल्छु नि !’ भनेझैं सजिलै सहभागी भयो र शून्य सिटमा डल्लिएको कथा छ । त्यति मात्र कहाँ हो र ! २०१७ सालको कठोर शाही कदमको समर्थन गरेर ‘राजतन्त्रको वरदायी छत्रछाया (?)’–को जपतपको फलस्वरूप उनै बेदान्त झा राजानुग्रहका उपल्ला पदहरूमा भाग बसेर टन्न भएका कथाहरू छन् । अतः ‘मधेशको मधेश अनुकूल हक कायम गराउने र मधिशे जनताको कल्याण गर्ने’ श्रव्य–दृश्य ब्यानरमा हुने मधेश आन्दोलनको परम्परा आदिदेखि आजसम्मै यस्तै चल्दै आइरहेको देख्न पाइन्छ ।

मधेशका अधिकांश नेताहरू नेपाली चलचित्रका ‘हर्के साहू’ वा हिन्दी चलचित्रका ‘जिमिन्दार–चौधरी’ वा ‘ठाकुर’ हैसियतले ‘नेता’ भइखाएका छन्, मधिशे जनतालाई खेलाएर–खटाएर–नचाएर राजनीतिक लाभ किन परम्परागत संस्कार अनुगमनमा प्रवीण र चतुर छन् । यसलाई मनोविज्ञानले पैदायसी गुण (genetic inheritance)मान्दछ । आफ्ना हुकुमबाट ‘मर्दा शहीद कहलाइने र परिवारलाई पचास लाख रुपैयाँ प्राप्त गराइने’ प्रलोभनले सम्मोहित तराई–मधेशका दुखिया जनतामध्ये पचास बढीले जीवन बलिदान दिए । तिनका ज्यानको मूल्य वापत सिंहदरबारको वातानुकूल कोठामा साधिकार स्थापित हुने अवसरको मोलतोल गरिरहेका छन् – अहिले मधेशी नेताहरू चाहिँ ! आफ्ना नितान्त ‘ठालू–स्वार्थ’–का लागि आफ्ना ‘रैती’ सरह तिनले ठान्ने मधिशे जनतालाई बलिका बोका बनाउने मधेशमार्गी भनिइने नेताका राजनीतिक चरित्र र स्वभावको उपस्थापना २००७ सालमा भई आजैसम्म अविच्छिन्न छ । यो कुरो शायद अधिकांश मधिशे जनताले बुझेका छैनन् र उनीहरूको यही अवोध अवस्थामाथि घोडा चढेर अमूर्त ‘मधेश–मुद्दा’ बोलको गीत गाउन र आन्दोलनको बैण्डबाजा बजाउन नेताहरूलाई सजिलो भइराखेको हुँदो हो ।

मधेश क्षेत्रको जनसंख्यामा आफ्नै पुस्तादेखिका नेपाली नागरिक बनेका बढी होलान् । भारत, बंगलादेश, पाकिस्तान आदि छिमेकी देशहरूबाट खाइजिलो गरिखान प्रविष्टहरूलाई नेपाली नागरिकताको प्रमाणपत्रद्वारा नेपालको तराई–मधेश भूखण्डका बासिन्दा बनाउने दूरगामी रणनीति तिनै मधिशे नेताहरूको आफ्नै मात्र हो कि उनीहरूको उत्पत्तिको ‘प्रमाण’ सिद्ध गर्न चाहनेहरूको अतिक्रमणकारी राजनीति (?)–को अभीष्टको ऊर्जा बढी लगानी छ यसमा ? यो प्रश्न कतै उत्तरित छैन र टुप्पीदेखि पाइतालासम्म अनुत्तरित पनि छैन । अन्तर्राष्ट्रिय शक्ति संघर्षको होडबाजीमा विजयी  बन्ने सपना बोकेका छिमेकी विशाल राष्ट्रहरूले नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन चाहनु, राजनीतिक हकमा, अस्वाभाविक नठहर्ला । तर, एक्काइसौं शदीका जनताका राष्ट्रिय चेतनाका सन्दर्भमा राजनीतिको अभ्यन्तरमा नैतिकताको पनि अलिकति स्थानको अपेक्षा हुनु पनि अस्वाभाविक नहुनपर्ने हो । मधिशे नेताहरूका लागि शायद तिलाठीबासी रैथाने मधिशे जनताभन्दा नव–घुसपैठियाहरू सजिलो अरौटेपरौटे लागेको अनुभवहरू हुँदा हुन् र तिनलाई आफ्ना आग्रहमा कतैको अह«ाइ–खटाइमा खेताला बनाउन पाएर नाकाबन्दी जस्तो देशद्रोही स्वरूपको हर्कतमा उत्रिन र उतार्न सहज भएको हुँदो हो । कि कसो त ?

अहिलेको गठबन्धन सरकारले मधिशे नेताहरूलाई अघाउञ्जी पार्ने र सत्ताको मेरुदण्ड बलियो बनाउने सोच सञ्चय गरिराखेको लक्षण देखेका छन्– सचेत नेपाली मात्रले । एकलब्यले जस्तो धनुको ताँदो तान्ने औंलै काटेर गुरुदक्षिणा दिने मूर्खतामा साँच्चै वर्तमान सरकार प्रस्तुत भयो भने यहाँसम्मका नरमाइला रमिता चूपचाप हेरिरहेका नेपाली नश्लका नेपाली रमितैमा अवश्य उल्झिरहने छैनन् । किनभने, नाकाबन्दीले नेपाललाई काबुमा ल्याउन सकिन्छ भन्ने बचकाना नाटक मञ्चन भइराखेका बेला सो आन्दोलन नामको काममा ज्यालादार खेताला बन्न आएका भारतेलीमध्ये एउटा बिहारी मरेको थियो— त्यसलाई वर्तमान सरकारले शहीद घोषणा गरेको छ । यो नै कुसंस्कृत नेपालीले देखेको लक्षणको एउटा चूरो हो !

हुन त भीरबाट लडेर मर्नेदेखि आत्महत्या गर्नेसम्मलाई ‘मोलमोलाइको राजनीति’ले शहीद भन्ने चलन देशव्यापी रूपमा लादिइसकेको यो समय–सन्दर्भमा एउटा बिहारी आन्दोलनमा ज्यालादार खेतालागिरी गर्दैगर्दा मर्नु र शहीदमा गनिनु खासै अनौठो कुरो नमाने पनि हुँदो हो । तर, देशको माटो र राष्ट्रियताका प्रति आत्मनिवेदित रहने वंशानुगत स्वभावका धनी नेपाली नश्लले ती दुई कुरामा आघात पुग्ने कुनै किसिमको दुष्कर्म हुन नदेलान् । यही आशा गरौं । किनभने, पटक–पटक अगुल्टो खपिसकेका आजका नेपाली बिजुली चम्किंदा तर्सिने भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्