Logo
  माघ २१, २०७९ शनिबार

ओली अनुयायीको नयाँ गन्तब्य



नेपाली राजनीतिमा एउटा विडम्वनायुक्त तस्वीर अघिल्तिर आउँछ । त्यो के भने, सत्तामा हुञ्जेल विरोध गर्ने । देख्न नसक्ने । तर, सत्ताबाहिर भएपछि सम्मान गर्ने । राजनेता ठान्ने । यसपटक पनि यस्तै भयो । केपी ओली जसै सत्ताबाट बाहिरिए, सेकेण्ड पनि बितेन उनको प्रशंसा सुरु भयो । मानौँ ओली नेपालका त्यस्ता पात्र हुन, जसले सही नै सही काम मात्र गरे । विरोध यस अर्थमा कि, उनले गलतै गलत मात्र गरे । अनि सत्तामा बस्नेले सधैँ आफैँलाई मात्र सही देख्ने । र, अरु सबैलाई गलत मात्र देख्ने गलत संस्कार पनि सँगसँगै आउँछ । यो प्रवृत्ति सत्ता त्याग गर्ने र सत्ताको माग गर्ने दुबैमा उत्तिकै रुपमा हाबी छ ।
अशिक्षित राजनीतिज्ञ क्रुर हुन्छन्, अर्धशिक्षित राजनीतिज्ञ भ्रष्ट हुन्छन् भनिन्छ । हामीमाझ उदाएका त्यस्ता क्रुर चरित्र र भ्रष्ट आचरण समाजका लागि घातक मात्र होइन, विष समान हुन्छ । यसपटकको सत्ता परिवर्तन यही अशिक्षित र अर्धशिक्षित राजनीतिज्ञको झुण्ड वरपर घुमेको छ भन्दा फरक पर्दैन । किनभने सत्ता परिवर्तन एउटा त्यस्तो समयमा हुन्छ, जतिबेला एउटा भिन्न परिवेश भएको हुन्छ । यतिबेलाको त्यो भिन्न परिवेश के हो र कसरी सिर्जना भयो त्यो रहस्यमय छ ।
 हो, जब पानीको मुहान फोहोर हुन्छ, तब गाउँ बस्तीमा हैँजा फैलिन्छ । जब आफ्नो घर फोहोर हुन्छ, तब अरु कसैले आएर सफा गरिदिँदैन । आफँै सफा गर्नुपर्छ । त्यतिबेला पहिले मुहान सफा गर्नुपर्छ । अनि आफ्नो घर । सत्ताको खेललाई त्यो मुहानसँग तुलना गर्ने हो भने केपी ओलीले गरेका कतिपय निर्णयले दूरगामी महत्व र प्रभाव पार्छन् । त्यो नै कारकतत्व भने अहिलेको सत्ताको खेल निरर्थक छ । केपीका सच्चा अनुयायी शङ्कर पोखरेलको विचारमा सरकारले ओली डक्ट्रिनका आधारमा सत्ता सञ्चालन गरेको हो भने अहिले नै त्यो समय आइनसकेको पक्का हो । किनभने सत्ताको मात्र के कुरा, सामान्य घर परिवार चलाउन त निश्चित योजना बनाइन्छ । आफ्नो औकात र हैसियत हेरेर काम गरिन्छ । चाडबाडमा खर्च गर्दादेखि घरमा नुनतेल किन्दा पनि आफ्नो बजेट हेरिन्छ, पहिले गोजी छामिन्छ । अनिमात्र खर्च गर्नेतिर लागिन्छ । केटाकेटीको गलत बानी हुन्छ, आमाबाबुको गोजी कति भारी छ भन्ने याद गर्दैनन् । सत्ता सञ्चालन पनि एकप्रकारले गोजीको पैसाजस्तै हो । गोजीमा जति हुन्छ, त्यतिमात्र खर्च गर्न सकिन्छ । केटाकेटीले कल गरे भन्दैमा आमा बाबुले जथाभाबी खर्च गर्न सक्दैनन् । सक्दैनन् मात्र होइन, त्यसको भारी उनीहरुले जीवनभर बोक्नुपर्ने हुन्छ ।
पहिले बुझ्नुपर्ने कुरा के हो भने, केपी ओलीको सरकार एकलौटी होइन । त्यसमा राजावादीदेखि माओवादीसम्म थिए । उनीहरुका राजनीतिक आदर्श, मुल्यमान्यता फरक–फरक छन् । बिच्छी र भ्यागुत्ताको धार्नी बोकेर सत्ताको साँचो कहिलेसम्म अँठ्याउन सकिन्थ्यो र ! केपी ओलीको मन सफा होला । जीवनको अन्तिम क्षणतिर ओलीले कुनेै गलत नियत राखेर काम गरे होला भनेर कमसेकम म चाहिँ भन्न सक्दिनँ । किनभने, म पनि एउटा झापाली नै हुँ । ओली प्रधानमन्त्री हुँदा खुशी भएर मैले पनि स्टाटस लेखेको थिएँ । तर, ओलीले सत्ता छोडिरहँदा म उतिसारो दुःखी बन्न सकिनँ । र, खुशी त हुने कुरै भएन । पार्टीभित्र ओलीको विगत सदैव प्रतिपक्षको रुपमा थियो । यसपटक जब ओली पार्टीको अध्यक्ष बने, उनलाई पार्टी सञ्चालन गर्न दोहोरो भूमिका अपनाउनुपर्ने बाध्यता आइपर्यो । जब ओलीको हातमा पार्टी पुग्यो, तब तलतलसम्म अन्योल भयो, कार्यकर्तामा । जो हिजोसम्म पार्टीमा स्थाई प्रतिपक्षी थिए, ती एकाएक संस्थापन भए । केपी ओलीबाहेक ती तलका ओलीका अनुयायी जसले पार्टी र पदलाई आफू अनुकुल मात्र चलाए । अहिलेको सत्ता परिवर्तन त्यसै पेरिफेरिमा पनि घुमेको छ भन्दा फरक पर्दैन ।
पहिले आफू शुद्ध हुनुपर्छ । तबमात्र अर्कालाई म शुद्ध छु, असल छु, राम्रो छु भन्न सकिन्छ । पहिले आफ्नो घर सफा गर्नु पर्छ । नत्र आफ्नोे घरको दुर्गन्धले गाँउ टोल नै फोहर गरिदिन्छ ।  सफा गर्न अरु आइदिदैनन् । पहिले आफ्नो घर सफा गरौँ । त्यतिबेला मात्र आत्मसम्मानको बोध हुन्छ, जतिबेला आफू सफा भइन्छ । र, घर सफा गर्ने अभियान थालौँ अब । सत्ता केवल क्षणिक हुन्छ । यसपटक जव केपी ओलीको सरकारमाथि गिद्धेदृष्टि पर्यो, तव मुलुकभर एकप्रकारले अन्यौलता छायो । कार्यकर्तामा निराशा छायो । कतिपय मान्छे सडकमा ओर्लिए । ‘आइ एम वीथ केपी ओली’ भने । आखिरमा सत्ता त्यस्तो खेल हो, जसलाई सडकले चलाउन सक्दैन । संसद सङ्ख्याको मेल हो जसलाई बालुवाटारले नियन्त्रित गर्न सक्दैन । जव यो कुरा उनीहरुले बुझे, तब उनीहरु आफैँ पछि हटे ।
राजनीति सम्भावनाको खेल हो । अहिलेसम्मका सत्ता राजनीतिमा एमाले सदैब अब्बल नै मानिन्छ । ०४६ सालको परिवर्तनपछि एमालेले १ दर्जनपटक सत्तारोहण गर्ने अवसर पाएछ । ४ पटक त आफ्नै नेतृत्वमा सरकार चलायो । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीसम्ममा आइपुग्दा लाग्छ, एमालेले सत्ताको अनुभव र अनुभुती नै गर्न पाएन कि ? नत्र, यसपटक एमालेलाई सत्ता छाड्न जति कठिन भयो, भोलिका दिनमा सत्ताको सिँडीमा उक्लन उति नै कठिन हुन सक्छ । किनभने सत्ता त क्षणिक लाभ हो । सत्तामा जतिधेरै लामो समयसम्म टिकियो, उति नै लोकप्रियता खस्कने खतरा हुन्छ । जति कम समय किन नहोस्, लोकप्रियतालाई कसैले अस्वीकार गर्न सकिदैन । तर, यस विषयमा कताकता ओली सरकारका सल्लाहकारले उचित सल्लाह दिन नसकेका हुन् कि भन्ने जनताको बुझाई छ ।
यदि सडकबाट सत्ता टिकाउन खोज्नुदेखि संविधानका धारा देखाएर सत्ता लम्ब्याउन खोजेको जस्ता कुराले सरकारमाथि कसैको आक्षेप आउछ भने, पहिले नै सरकारले त्यसउपर स्पष्ट पार्नुपथ्र्यो । ठीक छ, सरकारले त्यो स्पष्ट त पार्यो । तर, ढिलो गरेर । र, अन्योलता बढेपछि । सत्ता र पार्टीको जीवनलाई दीर्घकालसम्मका लागि हो भनेर नबुझ्ने र यो भन्दा पछि अरु पनि एमालेका सरकार बन्छन्, अरु धेरै धेरै नेताले निधारमा प्रधानमन्त्री हुने भाग्य लिएर आएका छन् भन्ने नठान्ने हो भने त केही भन्न सकिँदैन । नत्र अहिलेको जस्तो जबरजस्ती अझै लामो समयसम्म गरिरहनु नै उचित हुने थियो । होइन भने कमरेड केपी ओलीले जुन आत्मसम्मान र गौरवका साथ संसदमा आफ्नो भनाई राख्नुपर्यो, त्यो समय सान्दर्भिक थियो ।   
केपी ओली, नेपाली राजनीतिका असल पात्र हुन्, जसले इमानकासाथ बाँच्न चाहे । उनलाई  जबरजस्तीरुपमा लतारियो । सत्ताबाट बर्हिगमन गर्न बाध्य पारिएको हो भने त्योभन्दा गलत इतिहास अरु केही हुनेछैन । होइन भने, केपी ओलीको सरकार ढल्दा जो जो भोकभोकै बसे, दुःखमनाउ गरे, यो उनीहरुका लागि नयाँ मार्ग हो । नयाँ गन्तब्य हो । राजनीतिमा दुःखमनाउको अर्थ हुन्न । ब्रत बस्नुको तर्क हुँदैन । तसर्थ ओलीका अनुयायीहरु जनतामा जाउ । अब नयाँ गन्तब्य पहिल्याउ ।     
 

 

प्रतिक्रिया दिनुहोस्