Logo
  माघ २२, २०७९ आईतबार

‘समाज विकासमा साहित्य उपयोगी हुन्छ’



साहित्यकार मिश्र वैजयन्ती नौलो साहित्यीक जगतमा चिरपरिचित नाम  । भनिन्छ, उनले मोरङको उर्लावारीमा रहेर निरन्तर साहित्य साधाना गरि राजधानीलाई समेत चुनौति दिईरहेकी छिन् । रुप र वस्तु सौन्दर्यको मिश्रणमा कवितामा सिर्जना गर्ने वैजयन्तीका कविताले सामाजिक मुल्यबोधलाई प्रमुखता दिएको छ । आलोचनात्मक यथार्थ, प्रतिकात्मकता, विम्वविधानमा गहन देखिन्छ, उनको कवितामा । साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई दुई दर्जन बढी संस्थाहरुले सम्मान गरिसकेका छन् । पूर्व र पश्चिममा एकल कविता वाचन गरेसकेकी वैजयन्ती प्रगतिशील लेखक संघ मोरङ अध्यक्ष र नेपाली साहित्य समाज उर्लाबारीकी उपाध्यक्ष छिन् ।  मिश्रको  संवेदनाका नागबेली, हाईकु संग्रह र पाश्र्व आवाज कविता संग्रह प्रकाशन बजारमा आएको छ । समालोचक तथा साहित्यकार मिश्र वैजयन्तीसँगको तेजन खड्काको कुराकानी ।
 
तपाईको कविता लेखन यात्रा कहिले देखि सुरु भयो ? कसको प्रेरणाबाट लेख्न थाल्नु भो ?
मेरो लेखन यात्रा चालिसको दशक हो । २०४४ मा मेरो हाइकु र कविता छापिएका हुन् । मन्चमा वाचन गर्ने, साहित्यिक कार्यक्रममा संलग्न हुने त त्यस अघि नै हो । सिंगै एकजनाको मात्र प्रेरणा छैन । शिक्षक, साहित्यिक कृति । आमाको हौसला खुब रहन्थ्यो । मलाई कार्यक्रममा जान बाधा थिएन । केटाकेटीमा रात बस्ने गरी जाने कार्यक्रम त्यति जाने मौका नमिल्ने पनि । पछि जानैपर्ने भए पछि पनि बाधा आएन । म घरको काम गर्दागर्दैै आधा छोडेर हिँड्थेँ । सबैले सहयोग गर्नुहुन्थ्यो । सबै आमाबुबालाई आफना छोराछोरी सफल भएको हेर्न रहर हुन्छ नै । मेरा बुबाआमा त्यसको अपवाद हुनुहुन्नथ्यो ।
 
तपाईको कवितामा पाठकले पाउने फरक स्वाद के हो ?
पाठकको अनुभूति म कसरी भनौँ ? मेरो कविता समाजसँग जोडिएको, मौलिक प्रतिक र बिम्बहरुको बढी प्रयोग भएको पाउनुपर्ने हो । म अरुको जस्तो नलेखौँ भन्छु यसर्थ फरक हुनुपर्ने हो ।

तपाईको विचारमा कविता कस्तो हुनुपर्छ ?
स्रष्टाले समय बोकेकै हुन्छ । अल्बेयर कामुको दोस्रो विश्वयुद्धपछिको समयको, देवकोटाले स्वच्छन्दताबाट प्रगतिवादको, विश्वेश्वरले मनोविज्ञानको, पारिजातले प्रारम्भमा अल्बेयरका बाटो तर पछि तीसको दसकपछिको नेपालको समयको, नेपाली साहित्यको २०१५ देखि करिब बीसको दसकभरि नै भनौँ जुन लेखे र त्यो पछि तीसको दसकका कविता र साहित्यिक चहलपहलको शक्तिलाई मूल्याङ्कन गर्दा लेखकले समयलाई समाउँछ । यसर्थ समय नबोल्ने रचनाको कालजयीता भरपर्दो हुँदैन । कवितामा यीनै विषयलाई आधार मानेर कला र जीवन जोडेर लेखेको रचना कविता ढाँचाको हुनुपर्छ ।
 
कविताले व्यक्ति र समाज परिवर्तन गर्छ ? परिवर्तन गर्छ भने कसरी ?
कविताले समाजकै काम गर्ने हो । घाउ जाति भए जस्तो यसरी परिवर्तन गर्न सकिन्छ भन्न सकिँदैन । रामायणले अनेपाली भाषीलाई नेपाली बोलायो र नेपालको राष्ट्रभाषा हुन मदत पुर्यायो । तपाईँ हाम्रा छोराछोरी विद्यालयमा साहित्यकै माध्यमबाट भाषा, समाज, जीवन बुझिरहेका हुन्छन् । समाजका विकृति विसंगतिलाई कविता र समग्र साहित्यले कला, लय, भाव र विचारको संयोजन गरी ग्रहण गर्न सहज बनाइदिन्छ । यसले व्यक्तिलाई परिवर्तन गर्छ । चिन्तन गरेर कविता लेख्ने मान्छे हरेक ठाउँमा नयाँ विषय खोजिरहेको हुन्छ र उसले दिमागलाई गलत चिन्तनबाट आफूलाई बचाउन सक्छ ।

राजधानीमा बसेर साहित्य सृजना गर्दा चाँडो सफलता पाईन्छ भन्छन् नि, तपाईलाई के लाग्छ ?
तपाईँले भनेको साँचो हो । देशमा केन्द्रीय सन्चार काठमाण्डौँमा छन् । सिर्जना जहाँ बसेर गरे पनि केन्द्रमा काम नदेखाए देशभरि गएको अहिलेसम्म देखिएको छैन । चाँडो सफलता पाउन गर्ने त्यसै हो । तर अब देश संघियतामा जाँदैछ यसमा केही परिवर्तन आउला । यसो भन्दैमा बाहिर बसेर लेख्नेहरु कामै नलाग्ने भए भन्न सकिन्न । काम लाग्ने भएका छ । केही धीरता लेखकमा हुनुपर्छ । अध्ययनको गति तिब्र हुनुपर्छ । नयाँ के आइरहेको छ त्यो ज्ञानमा हुनुपर्छ । राजधानी बाहिर अहिले लेखनको शक्ति मौलाएको छ । राजधानीका लेखक विषय खोज्न बाहिर दौडने गरेकोले पनि यसलाई पुष्टि गर्दछ ।
 
तपाईको विचारमा कुन समयमा सुन्दर कविताको जन्म हुन्छ ?
सुन्दर कविताको जन्मने साइत हुँदैन । मनमा जीवन, विचार, कला, भावको मन्थनपछि जन्मेको कविता सुन्दर हुन्छ । व्यक्तिगत प्रलापहरु कविताका सुन्दरता होइनन् । कवितालाई पाठकले पढिरहँदा त्यो विषय उसको पनि हो भन्ने अनुभूतिको रचना राम्रो होला भन्छु म ।
 
नेपाली साहित्यको विकासमा मोफसलका श्रष्टाको कस्तो भुमिका छ ?
अब मोफसल छैन । इन्टरनेट छ, इमेल छ, रातदिन मानिसहरु फेसबुक जस्तो सामाजिक सन्जालबाट सार्वजनिक भइरहेका छन् । अब ठाउँ र ठेगानालाई जित्तै छन् । अघि माथि नै भनेँ मैले केन्द्रीय सन्चार माध्यम भएका ठाउँबाट छापामा आउन छिटो सहज हुन्छ । तर ई—पत्रिकाले ती समस्यालाई सजिलै हल गर्ने समय आएको छ । राम्रा काम गरौँ हामी मोफसलको रुग्ण चिन्तनबाट छिट्टै मुक्ति पाउने छौँ ।
 
सुन्दर कविता लेख्नका लागी एउटा कविसँग के के हुन जरुरी छ ?
अरुका लागि के कसो हो म भन्न सक्दिन । कविताको अध्ययन, विश्लेषण गरिएका रचना, विचार, मौलिक चिन्तन, सामाजिक जीवनको भेउ, ताजा तर प्रिय शब्दहरुको खोजी सुन्दर कविताका लागि मेरा सामग्री हुन् । समय र स्थानले मलाई उत्ति प्रभाव पार्दैन । यसो भन्दैमा हामी कतिजनाले हिँड्दा, खाँदा खाँदै पनि लेख्न सकिन्छ भनी सोधिदिन सक्नुहुन्छ । यसो भनेको होइन, खासमा साधारण ठाउँ र खाली समय भए हुन्छ भनेको हो ।
 
नव आगन्तुक साहित्यकारहरुलाई के सन्देश दिनुहुन्छ ?
अध्ययन पहिलो सर्त बनाउनुहोस् । अग्रजका नयाँ शैलीहरु खोज्नुहोस् । लेखिरहनोस् । बारम्बार आफनै कविता पढ्नुहोस् । अनावश्यक शब्द नथुपारीकन कवितालाई छोइरहनुहोस् । आफना सुनाउनुहोस् अरुका सुन्नुहोस् भन्न चाहन्छु ।
 
हाईकु संग्रह पछि कविता संग्रह प्रकाशित गर्नुभयो ? यसबाट कस्ता उपलब्धि हासिल भए ?
हाइकुसंग्रह पछि मैले ‘पाश्र्व आवाज’ नामको कवितासंग्रह प्रकाशन गरेँ । यसले मेरो कविता लेखनको अभ्यास र दृष्टिकोणलाई सार्वजनिक गर्यो ।
 
आगामि दिनमा कस्ता किसिमका कृतिहरु ल्याउने सुरमा हुनुहुन्छ ?
अब कथा, निबन्ध, कविता र समालोचनाका एक एक कृति तयार छन् । प्रकाशन गर्ने मिति तयार गरेको छैन ।
 
अहिले बजार उपन्यासको छ भनिन्छ, महिला साहित्यकारहरु उपन्यास प्रकाशित गर्न आट गर्दैनन् भनिन्छ नि ?
कसले भन्यो तपाईँलाई यस्ता कुरा ? जत्ति गर्छन् । पारिजात महिला होइनन् ? माया ठकुरीलाई म त महिला नै भन्छु । मनिषा गौचन पनि महिला हुन् ।

फेरि तपाईँलाई महिला लेखकहरु निबन्ध, कथा, समालोचना, उपन्यास लेख्न सक्दैनन् भन्ने भाइरस कसले हालिदियो ?

मुक्त हुनुहोस् यसबाट । मिश्र वैजयन्तीले लेखेको छैन भनेर त पक्कै होइन होला नि । मेरै सन्दर्भलाई भनेको हो भने म समालोचना गर्छु । कथा र निबन्ध लेख्छु । मेरो मर्ने बेला पनि त भयो भन्न म सक्दिन । उपन्यास लेख्न पनि त सकिन्छ । कमर्शियल लेखक भएको भए म सबैथोक छोडेर बिकाउ साहित्यको पछि लाग्थेँ होला । नेपाली साहित्यमा त्यस्तो नगर्ने धेरै छन् । बजार सबै किसिमका विधाको छ ।
 
तपाई एउटा शिक्षिका, गृहणी, अभिभावक साहित्य श्रृजना गर्ने समय कसरी मिलाउनुहुन्छ ?
कामको फुर्सदलाई म पटक्क खेर फाल्दिन । आवश्यक काम बाहेक म अन्य मनोरन्जनलाई कम समय दिन्छु । लेखाइलाई मजबुत पार्न पढ्न पर्यो यसैबाट मनोरन्जन पनि गर्छु । यसर्थ म हरेक फुर्सदको समयमा मेरो सिर्जना मसँगै हुन्छ ।
 
साहित्यिक क्षेत्रमा पनि गुटबन्दिहरु पाईन्छ भनिन्छ, तपाईको अनुभवमा छ कुनै छ कि यस्तो घटना ?
साहित्य पनि समाजमै बसेर गर्ने काम हो । समाजमा बस्ता के हुन्छ त्यो साहित्यमा पनि हुन्छ । यति हो कति देखिन्छ कति देखिँदैन । नेपाली साहित्यमा कहाँ कहाँ गुटबन्दी छ म भन्न सक्दिन । मैले जानेको मेरो गुट छैन ।
 
प्रसंग मोडौ, पूर्वाञ्चल मै पहिलो पटक सिर्जना अनुशीलन कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ यसको उदेश्य बारे प्रष्ट पारिदिनुहोस न ?
सिर्जना गर्ने काम मात्रै भयो । तर सिर्जनालाई पाठकमाझ लाने काम भएन । समाज विकासका लागि कला, संगीत, साहित्य, खेल उत्तिकै उपयोगि विषय हुन् । यी विषयको राम्रो विकास भएको ठाउँ विकसित ठहर्छ । पठन संस्कृतिको विकास हुनु जरुरी छ । प्रत्यक्ष परोक्ष रुपमा पठन संस्कृतिको विकास, साहित्यको उन्नति, साहित्यको बहस र यसको निष्कर्षले चेतनाको फैलावट गर्न सानोभन्दा भन्दा सानो उपलब्धी मात्रै पनि राम्रो हुन्छ भनेर यो कामको थालनी भएको हो ।
 

यस्ता किसिमको कार्यक्रम गर्ने सोच कसरी पलायो ?

म समालोचना गर्ने मान्छे । सबै कामलाई विश्लेषण गर्ने एउटै तरिका हुँदैन । साहित्यमा भने यो अनुशीलन सम्भव छ । सबैले कार्यक्रममा रचना वाचन गर्छन् । हामी भने नयाँ गरैाँ, केही राम्रो गरौँ भनेर सोच आयो । मैले साथीहरुलाई प्रस्ताव राखेँ । कुरा मिल्यो ।
 

कार्यक्रमको खर्च कसरी धानिरहनुभएको छ ?

कार्यक्रम गर्न सजिलो छैन । कहिले आफैँ लाउँछौँ कहिले सहयोग माग्छौं ।

प्रतिक्रिया दिनुहोस्