Logo
  माघ १६, २०७९ सोमबार

माओवादीको पराजय र अवको बाटो



तारामणि सापकोटा
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा पहिलो चरणमा प्राप्त गरेको मतपरिणाम दोस्रो चरणमा वृद्धि गर्न सक्ने अपेक्षा गरिएको थियो । तर, त्यस अनुसारको परिणाम नआउँदा माओवादीमा एक प्रकारको निराशा छाएको छ । दोस्रो चरणको निर्वाचनको अन्तिम परिणाम आउनु अघिनै माओवादी केन्द्र भित्र र बाहिर तिब्र क्रिया प्रतिक्रिया उत्पन्न भयो । माओवादीका नेता कार्यकर्तादेखि गैर माओवादीसम्मले माओवादी निर्वाचनमा हार्नुका कारण विश्लेषण गर्न भ्याए ।
माओवादी हारका सम्बन्धमा जतिले कलम चलाए सबैको साझा निश्कर्ष भनेको कमजोर संगठन हो । प्रचण्ड प्रधानमन्त्री हुँदा भएका राम्रा कामको प्रचार गर्न नसक्नु, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको स्थापनामा माओवादीको ऐतिहासिक योगदान माओवादी एजेण्डा हुन भन्ने निम्न वर्गलाई बुझाउन नसक्नु हारका प्रमुख कारण हुन् । माओवादी नेता कार्यकर्ताले संविधान निर्माणमा प्रचण्ड र माओवादी केन्द्रको ऐतिहासिक योगदान छ भन्ने कुरालाई स्थापित गर्नै सकेनन् ।
मओवादीका कार्यकर्ता गाउँमा स्थापित नहुनु, बिगतको माओवादी प्रतिको नकारात्मक प्रचार र भ्रम चिर्न नसक्नु, सक्षम र योग्य उम्मेद्वारको पङ्ती तयार गर्न नसक्नु, निर्वाचनका लागि केन्द्रदेखि गाउँसम्म जोजनावद्ध निर्वाचनको तयारी गर्न नसक्नु, आर्थिक अभाव, कमजोर छौँ भन्ने जान्दा जान्दै मनोगत रुपमा निर्वाचन जितिन्छ भन्ने सतही रिपोर्टिङ् लगायतका भ्रम भ्रान्तिले निर्वाचनमा माओवादी पराजय भएको हो ।
मओवादीले निर्वाचन जितिन्छ भन्ने मनोगतवादी बन्ने तर आम नागरिकले माओवादीले जित्नसक्छ, उ पनि काँग्रेस एमालेको प्रतिस्प्रर्धि हो भन्ने मान्यतालाई स्थापित गर्नै सकेन । जनताले माओवादी कार्यकर्ताको जित्छौ भन्ने तर्कलाई पत्याएनन् । हारका लागि यो एक मनोवैज्ञानिक कारण थियो । जनताको यो मनोवैज्ञानिक चिन्तन र भ्रमलाई माओवादी पार्टी र कार्यकर्ताले चिर्नै सकेनन् ।

अवको निर्वाचनमा माओवादी
कुनै गठबढी भएन भने माओवादीले सात महिना भित्र दुई वटा निर्वाचनको सामना गर्नु पर्ने हुन्छ । यसमा माओवादीमा तत्काल कुनै चामत्कारिक सुधार नभए आहिलेको भन्दा बढी पराजयको पीढा भोग्नु पर्ने अवस्था आउने सक्छ । यसका लागि माओवादी केन्द्रले दुई वटा योजना अघि सार्नु आवश्यक हुन्छ । एउटा माघमा हुने संघ र प्रदेशको निर्वाचन लक्षित कार्यक्रम र अर्को पाँच बर्षे रणनीति । माघको निर्वाचन लक्षित कार्यक्रममा मुलतः प्रचण्ड प्रचारका हिसावले तल्लो तहमा आउन सक्नु पर्दछ । अन्य पार्टी नेताले देश दौडाहा होइन एउटा दुईटा निर्वाचन क्षेत्रका जिममेवारी लिएर त्यहि अनुसार निर्वाचनमा लाग्नु पर्दछ । जितिन्छ उठ्ने जितिँदैन भने अन्य दलसँग तालमेलको तयार गर्ने ।
तालमेल
स्थानीय निर्वाचनमा माओवादी केन्द्रको जनआधारको चित्र आइसकेको छ । यसमा तत्काल सुधार हुने छाँटकाँट छैन । स्थानीय निर्वाचनमा काँग्रेससँग मात्र तालमेल गर्ने सोँच नै त्रुटिपूर्ण थियो । यसमा सुधार माओवादीले सुधार गर्नै पर्दछ । जोसँग तालमेल गर्दा जितिन्छ त्यसैसँग गर्दा मात्र बढी उपलब्धी हाँसिल हुने हो । काँग्रेस एमाले प्रतिस्प्रर्धि पार्टी हुन् । त्यसकारण उनीहरु बिचको तालमेल सम्भव नहुन सक्छ । उनीहरुले ठूलो दल हुन तेस्रो दलको सहारा लिन सक्छन् । तेस्रो पार्टी निर्वाचनमा प्रतिस्प्रर्धामा उत्रदा सम्भव भए पहिलो नभए दोस्रोका लागि पहल गर्ने हो । यसमा माओवादी सत्तामा भएका नाममा काँग्रेससँग मात्र तालमेल गर्ने सोँच नै गलत थियो । यो नै माओवादी ठूलो भूल हो । अवको निर्वाचनमा काँग्रेस एमालेलाई समदुरीमा राखेर दुवै पार्टीसँग तालमेलको अवधारणा अघि सार्नु पर्छ । स्थानीय बस्तुगत अवस्थाका आधारमा तालमेल निर्धारण गर्नु पर्छ । केन्द्रले जोसँग तालमेल गर्दा बढी भन्दा बढी उपलब्धि हाँसिल हुन्छ, त्यसैसँग गर्ने भन्ने सैद्धान्तिक सहमति स्थानीय कमिटीलाई दिनु पर्दछ ।
पार्टी निर्माण
माओवादी निर्माण गर्ने हो भने पार्टी संरचनामा कठोरतापूर्वक परिवर्तन गर्न सक्नु पर्दछ । बिहान बेलुकै केन्द्रीय सदस्य थप्ने कार्य सदाका लागि बन्द गर्नु पर्दछ । माओवादीमा लेनिनवादी संगठानात्मक संरचना ध्वस्त भएको छ । हुन त जनयुद्धकालमा लेनिनवादी संगठानात्मक भन्दा पनि फौजी संगठनले काम गरेको थियो । संगठनको वास्तविक पद्धती बिकास हुनै नपाई माओवादी पार्टी बिभाजित भयो । विभाजनले पार्टी संरचना नै अस्तव्यस्त भयो । आज माओवादीले निर्वाचनमा त्यसैको परिणाम झेल्दै छ ।
शान्ति प्रक्रियापछि माओवादी नेता कार्यकर्ता काठमाडौँ, सदरमुकाम, राजमार्ग लगायतका क्षेत्रमा बसोवास गर्दछन् । उनीहरु गाउँ जानै चाहँदैनन् । यसमा दुई कारण छन् । पहिलो पार्टीको केन्द्रीय सदस्य भइसकेको नेता गाउँमा दुखः गर्नु सान्दर्भिक हुँदैन । दोस्रो पार्टीका उपल्लो तहका नेताले राजधानी नछाडेपछि जिल्लाका नेताले पनि सदरमुकाम वा राजमार्ग किन छाड्ने ? नेताले राजधानीमा र कार्यकर्ताले सदरमुकाममा मात्र आफ्नो राजनीतिक भविश्य देखेका छन् । यस्तो अवस्था माओवादी केन्द्रले पार्टी संगठनको मामलामा कठोर कदम चाल्नु पर्दछ । पार्टीलाई निर्वाचनको पद्धतीमा लैजानु पर्दछ । केन्द्रीय समिति बढीमा १ सय ५१ को बनाउने १ सय जना निर्वाचित हुने, ५१ जना अध्यक्षले आदिवासी, जनजाति, महिला, दलित, पछाडी परेको वा पार्टी भित्र प्रतिनिधित्व हुन छुटेको भूगोलबाट मनोनित गर्ने अधिकार हुनु पर्दछ ।
माओवादी केन्द्रले जिल्ला कमिटी पार्टीको विधानबाटै हटाउनु पर्दछ । जिल्ला कमिटी कम्तिमा माओवादी पार्टी निर्वाचनमा पहिलो नहुन्जेल गठन गर्नु हुँदैन । प्रदेश कमिटीलाई समन्वयात्मक बनाउनु पर्दछ । केन्द्र र जिल्ला कमिटीमा नपरेका नेता कार्यकर्तालाई प्रदेश कमिटीमा राख्नु उपर्युक्त हुन्छ । यसमा काम नगर्ने होइन, काम गर्न सक्नेलाई राख्नु पर्दछ ।
नगर र गाउँपालिका कमिटी शक्तिशाली बनाउनु पर्दछ । केन्द्रीय समितिले नै स्थानीय तहका कमिटी परिचान गर्नु पर्दछ । प्रदेश कमिटीले प्राविधिक काममा स्थानीय तहलाई सहयोग गर्नु पर्दछ । केन्द्रमा पनि नपरेका नेता कार्यकर्ता कि गाउँ, नगर कमिटी वा वडा कमिटीमा बस्नु पर्यो । या त अरु कुनै पेशा व्यवसाय गरि पार्टी सम्पर्कमा बस्ने र सामाजिक साममा सक्रिय हुने । उसले त्यहि क्षेत्रमा राम्रो गरे पार्टीमा पुनःस्थापित हुने वातावरण पनि बनाउनु पर्दछ ।
दण्ड र पुरस्कार
पार्टीमा राम्रो काम गर्ने कमिटी, नेता र कर्यकर्तालाई पुरस्कारको प्रवन्ध गर्नु पर्दछ । पार्टी परिचालन, जनपरिचालन, कार्यकर्ताको व्यवस्थापन, निर्वाचन लगायतका क्षेत्रमा उत्कृष्ठता हाँसिल गर्ने पार्टी कमिटीका नेता कार्यकर्तालाई पदोन्नोती, पार्टी संचालनमा सहयोग, प्राविधिक सहयोग गर्नु पर्दछ । उपरोक्त बिषमा उत्कृष्ठता हाँसिल गर्न नसक्ने कमिटी, नेता, कार्यकर्ता घटुवा वा अन्य कुराबाट वन्चित गर्नु पर्दछ ।
अतः स्थानीय तहको निर्वाचनमा लज्जानगक परिणाम प्राप्त गर्ने कमिटी र नेतालाई तत्काल हटाई हाल्नु पर्दछ । यसले राम्रो काम र नेतृत्व गर्न नसक्ने नेता कार्यकर्ता कारवाहीमा पर्न सक्छन् भन्ने सन्देश दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्