Logo

के प्रचण्डमाथि न्याय गर्न सक्छौँ ?



रमेश गुरागाईँ
ऐतिहासिक क्रान्ति र परिवर्तनको मियो अविच्छिन्न रुपमा उनी नै छन् । चर्चाको शीखरमा उनै छन् । नयाँ संविधान जारी भयो, उनकै नेतृत्वमा कार्यान्वयनले गति पक्रेको छ । कार्यकारी प्रमुखको हैसियतमा उनी सिङ्गो पहाड उचाल्न तयार भए । कसलाई के के दिएर व्यवस्थापन गर्ने, हिसाबकिताब उनी नै जान्दछन् । थाहा छ, उनको योगदान अतुलनीय छ तर हौसला र साथसहयोगको तुलनामा गालीगलौज र अपहेलना बढि पाउँछन् उनी । काम फत्ते गर्छन् उनी तर अविश्वास उनैमाथि । काम ठिक गर्छन् उनी तर आशंका उनैमाथि । पूर्वाग्रहको तुफान सहेका छन् उनले । अन्यायको चट्याङ खेपेका छन् उनले । यथार्थ हो, उनैले हिँडाएका छन् देश । अझ भनौँ उनी २० वर्षदेखि यो देश डोहो¥याइरहेका छन् । उनी निरन्तर यो देशको माटोमा आँशु, पसिना र रगत बगाइरहेका छन् । हा,े धेरैमा उनी मात्र एक छन् । उनी अर्थात् प्रचण्ड ।   
देशमा स्थानीय तहको चुनाव अनिश्चित झैं लाग्थ्यो । गाउँ, पसल, चोक, बजार, बाटो र चौतारोमा मानिसहरु चुनावबारे संशय व्यक्त गर्दथे । अलमल थिएन उनमा, बरु आत्मविश्वास थियो । त्यसैले चुनाव जसरी पनि हुन्छ भन्थे उनी । यसका बाबजुद धेरैले आशंका व्यक्त गर्दथे । एमाले नेताहरुले त मुखै फोरेर शंका गरे । सरकारको तर्फबाट उनी भनिरहन्थे, निश्चित रुपमा चुनाव हुन्छ ।
यता चुनौतीको पहाड थियो । मधेश केन्द्रित दलहरुले संविधाननै स्विारेका थिएनन्, चुनाव परै जाओस् । अन्ततः सबै समाधान प्रचण्डले एकैपटक दिए । संविधान संशोधन र निर्वाचनको सुनिश्चिता एवम् यसमा सबैको सहभागिताले उत्साह थप्यो । संविधान कार्यान्वयनको प्रभावकारिता बढ्यो । संविधान कार्यान्वयन र निर्वाचनको चिन्ता कसलाई बढि रहेछ भन्ने प्रष्ट भयो ।  
प्रचण्ड त्यस्ता व्यक्ति हुन्, जो प्रतिपक्षमै बसेर पनि सत्तापक्ष जस्ता देखिन्छन् । कारण उनमा जिम्मेवारीबोध छ । यो देशमा निकट अतितको कुनै समय थियो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउँथे । संविधान निर्माणको काम गरेको भन्ठान्थे तर त्यो अनिश्चित बन्दै गएको थियो । त्यो बेला प्रतिपक्षी दलका नेता थिए प्रचण्ड । उनैले तत्कालिन काँग्रेस नेता सुशिल कोइरालालाई राष्ट्रपतिको लोभ जगाइदिए । एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाइदिने आश्वासन दिए । यसो नगरे आज हामीसँग नयाँ संविधान हुन्थ्यो कि हुन्नथ्यो, भन्न सकिन्न । यस्ता स्वार्थी नेताहरु रहेको देशमा त्यसबापत प्रचण्डले कुनै व्यक्तिगत फाइदा सोचेनन् । देशलाई संविधान दिनुबाहेक उनले कुनै स्वार्थ लिएनन् ।  
प्रचण्डकै अडानका कारण प्रधानमन्त्री हुन सफल भए केपी ओली । ओलीले प्रयास नगरेका होइनन् । प्रचण्डको संगतमा उनले मधेश केन्द्रित दलहरुलाई बार्तामा ल्याउन चाहेकै हुन् । उनको पत्र पु¥याउने व्यक्ति तत्कालिन उपप्रधानमन्त्री कमल थापा जीउँदा साक्षी छन् । केपी ओलीले सिमाङ्कन सहित संविधान संशोधनको पक्षमा वार्तामा आउन पटकपटक मौखिक मात्र होइन, लिखित आग्रह गरे । तर उनी विश्वासयोग्य बन्न सकेनन् । उल्टै मधेशीलाई भड्काउने काममात्र ग¥यो ओलीको बोली र वचनले ।
प्रचण्ड सहयात्री बने, ओली सरकारको । साथ दिइरहे तर सहयात्रीलाई गर्ने व्यवहार दुश्मनजस्तो भएपछि बाध्य भएर सरकार छोड्नुपरेको प्रष्ट घटनाक्रम ताजै छ । यस्तो गरेनन् उनले, काँग्रेसलाई चित्त बुझाएरै दश महिना कटाए ।  प्रचण्ड पहलमा मधेशी दलहरु चुनावमा आउँदैगर्दा आजभोलि साक्षी किनारामा उभिन पुगेका छन् ओली । संविधान जारी गर्न मात्र होइन, कार्यान्वयनको चरणमा पनि यो देशले प्रचण्डको भूमिका प्रमाणित गरेको छ ।
व्यक्तिगत प्रशंशा होइन यो । कामको प्रशंशा निश्चित रुपमा हो । कतिपयले व्यक्तिगत प्रशंशा पनि गरेका छन् उनको । देवत्वकरण पनि गरेका छन् उनैलाई । हेयर स्टायल, जुँगा स्टायल, बोली, लुगा सबै सबै नक्कल गर्ने पनि भेटिएका छन् । यो सकारात्मक कुरो होइन । यसले उनलाई नोक्सान पनि पु¥याएको छ । देवत्वकरण गर्दै यसको आवरणमा आफ्नो स्वार्थ पूरा गर्नेहरुले उनलाई क्षति पु¥याएका हुन् । तिनीहरुले कि त नाजायज फाइदा लिएका छन् कि त स्वार्थ पूरा नभएपछि दानवीकरण गरेका छन् । सबैभन्दा बढी त तिनले गरे, जसलाई प्र्रचण्डले आन्दोलन सिकाए, क्रान्ति सिकाए, ज्ञान सिकाए, विज्ञान सिकाए, दर्शन सिकाए र जीवन सिकाए । अनि त्यही व्यक्ति प्रचण्डलाई रुखको हाँगामा बसेर भन्छ, प्रचण्डले सारा सिध्याए ।  
प्रचण्ड उदार छन् । हुन्न कसैलाई भन्दैनन् । दुःख गफमा मात्रै देखाए पनि पग्लिहाल्छन् । त्यसबाट बेलाबखत धोका खान्छन् । मानव हुन्, गल्ती हुन्छ । गल्ती हुने बित्तिकै सच्याइहाल्छन् । आफूले लेखेका दस्तावेजमा आफ्नै कमजोरी लेखेर पाना भर्छन् । भाषणमा आफ्नै गल्ती ओकल्छन् । मानव हुन् उनी जसले गल्ती गर्छ, स्विकार्छ र नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दछ । यस्ता नेता हामीले कोही भेट्न सक्दैनौं । गिरिजाले धेरै गल्ती गरेका थिए, अन्ततः व्यवहारमा सच्याएर गए तर बोलीमा उनले कहिल्यै स्वीकार गरेनन् । अरुले पनि त्यसै गर्ने गर्छन् । केपी ओलीले गणतन्त्रलाई बयलगाडामा अमेरिकाको यात्रा भने, अन्ततः गणतन्त्र स्वीकार गरे र गणतान्त्रिक नेपालको छैठौं प्रधानमन्त्री पनि भइसके तर आफ्नो त्यो बेलाको बोली गलत थियो भनेर सार्वजनिक रुपमा कहिल्यै भूल सुधार गरेका छैनन् । बस्, यति हो फरक प्रचण्ड र अरुमा । यस्ता उदाहरण बग्रेल्ती छन् ।
उनले जनयुद्ध गरे । शुरुमा वास्ता गरिएन । शक्ति निर्माण गरे, दमन गरियो । खोजेको त सिध्याउनै हो तर सकेनन् । तिनीहरुसँगै उनले वार्ता गरे र संविधानसभा, गणतन्त्र भने । हुँदैन भनियो । प्रतिगमन भयो देशमा, यसविरुद्ध उनै प्रचण्डको आव्हानमा देश एक ठाउँमा आयो । संविधान आयो, गणतन्त्र आयो, शान्ति आयो र बाँकी सबै यसैमा आए । उनीहरु आए तर प्रचण्ड आयो भनिरहे । सामन्तवाद र प्रतिगमनलाई कोषकोष नछाडी ठोकिरहन थाले प्रचण्डले । यसो गर्दा स्नायु जोडिएका पुराना राजनीतिक दलहरुमा संवेदना व्यक्त हुन्थ्यो । प्रचण्ड छक्क पर्दथे । कार्यनीति र रणनीति मिलाउन उनी कहिले अघि सर्थे र कहिले पछि हट्थे । यसलाई प्रचण्ड सँधै बोली फेर्छन् र उनी दुईजिब्रे हुन् भनियो । हा,े प्रचण्डले बोली फेरेरै यो देशको राजनीतिलाई अग्रगामी दिशामा हाँकिरहेका छन् । बाँकी बोली नफेर्ने आडम्बरीलाई आफ्नो पछि लगाइरहेका छन् ।
प्रचण्डमाथि पूर्वाग्रहको थुप्रो छ । यतिसम्म कि प्रचण्ड भन्ने मान्छे नै छैन पनि भनियो । कस्तो अचम्म ! जसको बुबाआमा छन्, जन्मस्थान छ, बसाइँसरेको ठाउँ छ, पढेको स्कूल छ, क्याम्पस छ, पढाएको स्कूल छ । उसलाई देख्नेभेट्ने राजनीतिक नेता, कार्यकर्ता र जनता गाउँगाउँमा छन् तर उही मान्छे छैन भन्ने हल्ला सत्य झैं वर्षौसम्म चलिरह्यो । खण्डन गर्न कति गाह्रो पथ्र्यो उसबेला । पुनः प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्ने हल्ला चल्यो । त्यसलाई पनि केही समय सत्य नै ठान्यौँ हामीले ।
आजकाल यो देशमा जे जे नराम्रा काम हुन्छन्, त्यसको दोष प्रचण्डलाई दिनु बौद्धिकस्तरको मापदण्ड हुन्छ । र, त्यसलाई जस्ताको तस्तै पत्याउनु हाम्रो बुज्रुकपन । प्रचण्डलाई नकारात्मक प्रचार गर्ने मान्छे समाजको जान्नेबुझ्ने झै लाग्छ । उसले भन्छ, फास्ट ट्रयाक प्रचण्डले भारतलाई दियो । घटनाक्रम अगाडि बढ्दै जाँदा सुशिल कोइरालाले भारतलाई जिम्मा दिन गरेको निर्णय प्रचण्ड सरकारले रद्द गर्छ र फास्ट ट्रयाक नेपाली सेनालाई दिने काम उही प्रचण्ड सरकारले नै गर्छ । बीचको ओली सरकारले गर्दैन । ऊ गफमै कार्यकाल बिताउँछ ।
त्यसैगरी अंगीकृत नागरिकता, हिन्दी भाषा, लुम्बिनी बिक्री लगायतका आरोप प्रचण्डलाई नै लगाइन्छन् । जुन दिन प्रचण्डले राष्ट्रियताको पक्षमा काम गरेर आफूविरुद्धको मुद्दामा प्रतिवाद गर्दछन्, त्यो दिन वादीहरु कुनै आत्मालोचना र लाजसरमबेगर आफ्ना दाँत हसाइरहन्छन् । यो देशमा जतिजति टावर र कम्प्लेक्स बन्छन्, ती सबैमा प्रचण्डको स्वामित्वको चर्चा हुन्छ । सायद प्रचण्डको वैचारिक पथप्रदर्शनबाट निजी सम्पत्तिप्रतिको मोह त्याग गरेका नेपाली थुप्रै संख्यामा छन् भन्ने हेक्का कसैलाई छैन । उनलाई देख्न नपाई उनैलाई आदर्श मानेर, उनका पछि लागेर मृत्युवरण गरे हजारौंँ नेपालीहरुले । समकालीन नेपालमा त्यस्तो व्यक्ति उनीबाहेक अरु कोही छँदैछैन, ठोकुवा गरेर भन्न सकिन्छ ।
उनी काम गर्छन्, कुरा कम । हावादारी कुरा उनको शब्दकोषमा छैन भन्दा अत्युक्ति नहोला । उनकै कार्यकालमा मेलम्चीको प्रतिक्षा नजिकिँदैछ काठमाडौंबासीका निम्ति । देश लोडशेडिङ्गमुक्त भयो । गरिवसँग सरकार, जनता पेन्सन लगायतका आधारभूत जनवर्गकेन्द्रित कार्यक्रम सञ्चालन गर्न चाहन्छन् उनी । भूकम्पपीडितहरुको दर्द मेट्न हतारो उनैलाई हुन्छ । कृषिको आधुनिकीकरणमार्फत् देशलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रबद्र्धन गर्र्ने योजना उनले बुनेका छन् । यसका लागि आर्थिक–राजनीतिक संरचना निर्माण र तिव्र आर्थिक वृद्धि अपरिहार्य हुन्छ, जसका लागि मरिमेटेर लागेका छन् उनी ।
जाँदाजाँदै समझदारीमा अडिग छन् उनी । संस्कार उनबाट सिक्नुपर्ने हो अरुले । किनकि सुशिलले केपीको सन्दर्भमा त्यो पालन गरेनन् । नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री केपीलाई बनाउने कुरो । त्यसैगरी केपीले पालन गरेनन् भद्र सहमति, प्रचण्डलाई सरकार हस्तान्तरण गर्ने कुरो । कत्रो प्रयत्न गर्नुप¥यो, अविश्वासको प्रस्ताव ल्याईल्याई । तर, प्रचण्डको पालो आउँछ । उनी घोषणा गर्छन् र सजिलै छाड्छन् । उनलाई सजिलो हुन्छ, अरुलाई कति गाह्रो !
प्रचण्डका नामका बारेमा, कामका बारेमा, ऐतिहासिक योगदानका बारेमा यति धेरै सामाग्री छन् तर हामी लेखक लेख्दैनौं । पत्रकार कञ्जुस्याइँ गर्छौं । प्रचण्डमाथि पूर्वाग्रहको कालो पट्टिले प्रायः सबैको आँखालाई पूर्णरुपमा ढाक्ने गर्दछ, मानौं कि प्रचण्ड नाम गरेको कोही व्यक्ति यो धर्ती र आकाशमा छैन । बरु एउटा राक्षस छ र एउटा खिल्ली उडाउने पात्र छ प्रचण्डको रुपमा । त्यो पट्टि प्रचण्डको कुनै एउटा ऐतिहासिक कदमले हावा झैं बनेर उडाउँछ अनि हाम्रो आँखा खुल्छ र प्रचण्डप्रतिको वषौंवर्षदेखिको अनुराग एकपटक ओकल्न मन लाग्छ । तर कुनैबेला यस्तो हुन्छ, हामी बाध्य हुन्छौं उनको बारेमा लेख्न । आज मलाई त्यस्तै भएको छ । त्यसैले त म लेखिरहेको छु तर यसअघि लेख्न जरुरी ठानेकै थिइँन ।
उनको वास्तविक काम र विम्ब झल्किने नाम हो, प्रचण्ड । हामी कति सञ्चारमाध्यम त त्यही नाम उल्लेख गर्न पनि हिच्किचाउँछौं । एउटा सर्वसाधारणले आफ्नो नाम जे बताउँछ, उसलाई उल्लेख गर्नुपर्दा हामी त्यही नाम प्रयोग गर्छौ तर प्रचण्डको हकमा त्यति न्याय पनि दिन सकेका छैनौं यो देशमा हामीले । आजसम्म तथाकथित बिग मिडियालाई सोध्न पनि चाहेका छैनौं हामीले, किन उनको वास्तविक नाम उच्चारण गर्न प्रतिबन्ध ? बहस, छलफल र आपत्ती हुनुपर्ने हो तर हामी तैं चुप, मैं चुप । बस् यति ।
हो, कमजोरी छन् उनका । त्यो हो परिवार । त्यो हो मिलाएर गर्न नजान्नु । मिलाएर चौरासी ब्यञ्जन हसुर्ने चतुरेहरु भएका देशमा एक गाँस खाएका छन् उनले पनि । आफूभन्दा बढि अरुलाई ख्वाएका छन् । उनको नामबाट उनैलाई थाहा नदिई हसुरेका छन् कतिले तर ती सबैको अपसज उनैले बेहोरेका छन् । यद्यपि अवगुण अतुलनीय रुपमा न्यून छ । यो जानेकै छौं हामीले तर चर्चा त्यसरी गर्दैंनौं । किनकि सेतो पर्दामा कालो दाग देख्न कुनै अप्ठ्यारो छैन । गणितको नियम हो, सकार धेरै र नकार थोरै हुनुको परिणाम सकार नै हुन्छ । कम्तिमा यो नियम पनि लागू गर्न सकेका छैनौँ प्रचण्डको हकमा । प्रचण्डमाथि योभन्दा ठूलो अन्याय के हुन सक्छ ?   
ब्रेकर –
१. गणितको नियम हो, सकार धेरै र नकार थोरै हुनुको परिणाम सकार नै हुन्छ । कम्तिमा यो नियम पनि लागू गर्न सकेका छैनौँ प्रचण्डको हकमा ।
२. प्रचण्ड सहयात्री बने, ओली सरकारको । साथ दिइरहे तर सहयात्रीलाई गर्ने व्यवहार दुश्मनजस्तो भएपछि बाध्य भएर सरकार छोड्नुपरेको प्रष्ट घटनाक्रम ताजै छ । यस्तो गरेनन् उनले, काँग्रेसलाई चित्त बुझाएरै दश महिना कटाए ।

 

प्रतिक्रिया दिनुहोस्